न‍ौ वर्षपछि नेविसंघको महाधिवेशन

  • 8 अगस्ट 2016
तस्वीर कपीराइट bbc
Image caption नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन राजधानीमा शुरु भएको छ

आफूलाई मुलुकको सबभन्दा बढी लोकतान्त्रिक भन्ने पार्टी नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघको दुई-दुई वर्षमा हुनु पर्ने महाधिवेशन नौ वर्षपछि आइतबारदेखि काठमाण्डूमा सु्रु भएको छ।

नेविसंघ मात्र होइन कांग्रेसका अन्य भातृ संगठनको महाधिवेशन समयमा नहुने रोग पुरानै हो, जुन अहिले पनि कायमै छ।

त्यसप्रति युवा नेताले तीब्र असन्तुष्टि प्रकट गरेका छन्।

अवरुद्ध

आवधिक निर्वाचन नगर्दा एकातिर विधानको अवज्ञा भएको र अर्कोतिर नेता माझिने र खारिने प्रक्रिया अवरुद्ध भएको विद्यर्थी नेताहरुको अनुभव छ।

पार्टी नेताले आफ्नो पक्षलाई नेतृत्वमा ल्याउन खोज्ने र विद्यार्थी नेताले पार्टी नेताको संरक्षण खोज्ने प्रवृत्तिले समेत बेथितिलाई मलजल गरेको बताइन्छ।

त्यही दाउपेचमा महाधिवेशन समयमा नहुने गरेको एकजना विद्यार्थी नेता कुन्दन काफ्ले बताउँछन्।

उनले भने, "विद्यार्थी नेताको र पार्टी नेतृत्वको अकर्मण्यताका कारण एउटा हो भने अर्को उनीहरु नीति भन्दा व्यक्तिलाई प्रधान बनाएर विद्यार्थी संगठन चलाउन खोज्नु नै गलत हो।"

आफू सम्बद्ध संगठनमा कांग्रेसले बेला बखत हस्तक्षेप गर्ने र महाधिवेशनको निम्ति अनुकूल समय कुर्ने गरेको पाइन्छ।

त्यसको शिकार कांग्रेसका अन्य संगठन पनि भएका छन्।

प्रावधान

त्यसको कारणबारे नेविसंघका पूर्वमहामन्त्री तथा कांग्रेस नेता गगन थापाले भने," हामीले आफ्नो इच्छा अनुसारको नेतृत्व ल्याउनका लागि नचांहिदो ढंगले हस्तक्षेप गरेकोले यो अवस्था आएको हो। पार्टी नेताले म गर्दिनँ भन्यो भने विद्यार्थीमा जस्तै पार्टी सम्बद्ध अन्य संगठन पनि पार्टीको गुट प्रतिविम्बित हुने गरेको छ"।

तर कांग्रेसका संगठन विभाग पूर्व प्रमुख आनन्दप्रसाद ढुंगाना त्यसको निम्ति भातृ संगठनलाई नै पहिलो जिम्मेवार ठान्छन्।

उनले भने, "यो नेतृत्वका कारण होइन की स्वाभाविक रुपमा भातृ संगठनहरुको आफ्नै अन्तरद्वन्द्वका कारण यस्तो अवस्था सिर्जना भएको छ।"

यस्तो आलोचनाका माझ कांग्रेसकै नेता संलग्न रही तयार पारिएको विधानले प्रत्येक दुई वर्षमा महाधिवेशन हुन नसके कार्यसमिति खारेज हुने र पार्टीले नयाँ निर्वाचन गराउने प्रावधान राखिएको छ।