सरकारमा तीन मन्त्री थप

  • 8 अगस्ट 2016
प्रधानमन्त्री प्रचण्ड तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डले आफूसंग काम गर्नका लागि निकै थोरै समय रहेको बताएका थिए।

प्रचण्ड निकट एक नेता वर्षमान पुनका अनुसार मन्त्रिमण्डल विस्तारको क्रम अझै जारी रहने छ, तर मन्त्रीमण्डल अघिल्लो सरकारको भन्दा “सानो आकारको” हुनेछ।

नेकपा माओवादी-केन्द्रको सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरु आफ्नो दल निकटको विद्यार्थी संगठनको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीहरुको नामावलीको टुंगो लगाउन नसकेको बताइएको छ।

आफूसँग समय निकै थोरै भएको बताउँदै कर्मचारी तथा प्रशासकहरुलाई लगनशील भएर काम गर्न निर्देशन दिन व्यस्त देखिएका प्रधानमन्त्री प्रचण्डले आफ्नो मन्त्रिमण्डल थोरै विस्तार गरेका हुन्।

सोमबार उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिपक बोहरा र विक्रम पाण्डे, अनि नेकपा संयुक्तको तर्फबाट जयदेव जोशीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन्।

"यो मन्त्रिमण्डल सरकारका सहयात्री दललाई समेट्दै अझै केहि चरणमा विस्तार हुनेछ," पुनले भने।

'सोच'

“उपप्रधानमन्त्रीहरु दुई जना गइसक्नु भयो अब नथप्ने, सहायक मन्त्री पनि नथप्ने र पहिलाको जस्तो ठूलो आकारको मन्त्रिमण्डल नबनाउने सोचमा छौं,” उनले भने।

प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डले गत साता दुई जना उपप्रधानमन्त्री सहित जम्मा ६ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए।

नेपाली कांग्रेसको तर्फबाट पहिलो चरणमै सरकारमा सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार आफ्नो दलका नेताहरु अहिले लामो अन्तरालपछि भइरहेको आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा व्यस्त रहेकाले मन्त्रीहरुको नामावली टुंग्याउन केही समय लागेको हो।

नेपाली कांग्रेसभित्र अहिले विभिन्न खेमाका नेताहरुबीच मन्त्री पद पाउन हानथाप चलिरहेका खबरलाई अस्वीकार गर्दै मन्त्री लेखकले मन्त्री छान्ने क्रम सामान्य ढंगले चलिरहेको बताए।

“बाहिर संञ्चार माध्यममा आएको जस्तो विवाद छैन। सामान्य छलफलहरु चलिरहेको छ,” उनले भने।

तयारी

नेपाली कांग्रेसभित्रबाट मन्त्रिमण्डलमा सहभागी हुन सभापति शेरवहादुर देउवा तथा रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौला पक्षका नेताहरुबीच हानथाप चलिरहेका विवरणहरु सार्वजनिक भएका छन्।

त्यसलाई असत्य बताउने मन्त्री लेखकका अनुसार नेपाली कांग्रेसबाट लगभग १२ जना मन्त्री सरकारमा सहभागी गराउने तयारी छ।

नेता वर्षमान पुनका अनुसार मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिक र अन्य तराई केन्द्रित दलहरुलाई पनि मिलाएर सहभागी गराउने प्रधानमन्त्रीको सोचाइ छ।

तर संविधान संशोधनअघि त्यसले मूर्तरुप लिने भरपर्दो संकेत अझै देखिएको छैन।