टर्की: एर्दोआन मृत्युदण्डको पक्षमा

  • 8 अगस्ट 2016
तस्वीर कपीराइट AP

टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले गत महिना भएको सत्ता हत्याउने असफल प्रयासको विरोधमा उत्रिएका १० लाख भन्दा बढी मानिसको बृहत र्यालीलाई सम्बोधन गरेका छन्।

एकताका लागि गरिएको भनिएको उक्त र्यालीमा उनलाई टर्कीको विपक्षी पार्टीका दुईजना नेता र सशस्त्र फौजका प्रमुखले साथ दिएका थिए।

झण्डा फहराइरहेको भीडलाई इस्तानबुलमा सम्बोधन गर्दै एर्दोआनले संसदको साथ पाएको भए मृत्युदण्डको व्यवस्था पुनर्स्थापित गर्ने बताए।

तर कुर्द पार्टीलाई भने त्यहाँ आमन्त्रण गरिएको थिएन।

विरोध

तटीय नगरभागमा रहेको चोक, रातो झण्डा फहराइरहेको ठूलो भीडले भरिएको थियो।

गत महिना भएको सत्ता हत्याउने असफल प्रयासको विरोधमा यसअघि कहिल्यै नभएको समर्थन आफ्नो देश र राष्ट्रपतिका लागि देखाउन टर्कीका जनता भेला भएका थिए।

समर्थकहरुलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोआनले सम्भवत् मृत्युदण्डको व्यवस्था पुनर्स्थापित गरेर भए पनि उक्त असफल सत्तापलट पछाडि रहेकाहरुविरुद्ध कारबाही चलाउन चाहेको बताए।

उनले भने, "विश्वका धेरै ठाउँमा मृत्युदण्डको व्यवस्था छ। हामीसँग पनि सन् १९८४ सम्म थियो। सार्वभौमसत्ता जनताहरुमा निहित हुन्छ। त्यसैले यदि जनताहरुले यो निर्णय गर्छन् भने म विश्वस्त छु राजनीतिक पार्टीहरुले पनि यसलाई पालना गर्छन्।"

मृत्युदण्डको व्यवस्था पुनर्स्थापित गरे टर्की युरोपेली संघभित्र पर्ने आशा अन्त्य हुने भन्दै जर्मनीले चेतावनी दिएको छ।

आरोप

एर्दोआनले अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेन उक्त सत्ता हत्याउने प्रयासको पछाडि रहेको बताएका छन्।

तर गुलेनले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन्।

हालैका साताहरुमा टर्कीका दशौं हजार शिक्षक, न्यायाधीश, सैनिक अधिकारीहरु पक्राउ परेका छन् वा उनीहरुलाई पदमुक्त गरिएको छ।

एर्दोआनमाथि धेरै हदसम्म कठोर नीति लिएको आरोप लाग्दै आएको छ।

इस्तानबुलमा जस्तै र्यालीहरु देशका अन्य भागमा पनि भइरहेका छन्।