इरोम शर्मीलाको १६ वर्षे भोक हडतालको अन्त्य

  • 9 अगस्ट 2016
तस्वीर कपीराइट EPA

भारतकी एकजना अधिकारवादी अभियानकर्ता इरोम शर्मीलाले देशको विवादास्पद सुरक्षा कानुनहरु विरुद्धको आफ्नो १६ वर्ष लामो भोक हडताल अन्त्य गरेकी छन्।

संसारको सबैभन्दा लामो भोक हडताल भनिएको उनको विरोध अभियानका कारण उनलाई बन्दी बनाएर दश बर्ष भन्दा बढी समयअघि देखि जबर्जस्ती नाकबाट नली मार्फत खानेकुरा खुवाउने गरिएको थियो।

  इरोम शर्मीलालाई आत्महत्याको प्रयासलाई अपराध ठहर्याउने एक कानून अनुसार बन्दी बनाइएको थियो।

भारतको उत्तरपूर्वी राज्य मणिपुरको अदालतले मंगलबार उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो।

उनले अस्पतालमा पत्रकारहरुका सामु मह खाएर आफ्नो भोक हडताल अन्त्य गरेकी थिइन्।

बन्दी

मणिपुर राज्यको राजधानी इम्फालको अदालतमा बोल्दै इरोम शर्मीलाले आफू आस्थाको बन्दी भएको बताएकी थिइन्।

उनले आफूले भोक हडताल अन्त्य गरेर स्वतन्त्र भई स्थानीय निर्वाचनमा भाग लिन चाहेको पनि बताइन्।

पछि पत्रकारहरुसंग कुरा गर्दै उनले अब आफूले भिन्न प्रकृतिको विरोधको शैली अपनाउन चाहेको उनले बताइन्।

आफूले १६ बर्षसम्म भोक हडताल गरेको तर त्यसबाट केही पनि उपलब्धी हासिल हुन नसकेको उनको भनाइ थियो।

इरोम शर्मिलाले एएफएसपीए भनिने सशस्त्र सैन्यलाई विशेष अधिकार प्रदान गर्ने कानून विरुद्ध भोक हडताल गरेकी हुन्।

अधिकार

उक्त कानुन अनुसार सैनिकहरुलाई विना कुनै वारेन्ट मानिसहरुलाई पक्रने र निश्चित अवस्थामा मानिसहरुलाई गोली हानी मार्ने समेतको अधिकार प्राप्त छ।

तस्वीर कपीराइट IAN THOMAS JANSEN LONNQUIST

त्यस्तो कानून भारतमा मणिपुर , भारत प्रशासित काश्मीर लगायतका विभिन्न राज्यहरुमा लागू छ।

इरोम शर्मीलाले आफ्नो १६ बर्षे भोक हडतालको अधिकांश समय मणिपुर राज्यको राजधानी इम्फालस्थित एउटा अस्पतालमा बिताएकी थिइन्।

अस्पतालमा उनलाई नाकमा जोडिएको नलीबाट विभिन्न औषधिहरुको मिश्रण र बालबालिकाहरुले खाने बट्टाको दुध जबर्जस्ती खुवाउने गरिन्थ्यो।