'दुर्व्यवहारको आरोपबारे अनुसन्धान गरिने'

  • 10 अगस्ट 2016

ब्रिटेनको द गार्डियन प्रत्रिकाले २ हजार भन्दा बढी चुहिएका दस्तावेजहरु प्रकाशित गरेको छ जसमा अस्ट्रिलियाको प्रशान्त महासागरस्थित नरु टापुमा रहेको आप्रवासी केन्द्रमा बालबालिका र महिलामाथि ठूलो स्तरमा दुर्व्यवहार हुने गरेको देखाइएका छ।

ती प्रतिवेदनले त्यो केन्द्रमा हिंसा र आफैलाई हानी गर्ने प्रवृत्ति उच्च रहेको देखाएका छन्।

धेरै प्रतिवेदन महिलामाथि भएका यौन आक्रमण र हिंसासंग सम्बन्धित छन्।

तर अस्ट्रेलियाको सरकारले धेरै वटा प्रतिवेदनमा अपुष्ट आरोपहरु रहेको बताएको छ।

अभिलेख

अस्ट्रेलियाले डुंगाबाट त्यहाँ पुग्ने शरणार्थीहरुलाई निजी सञ्चालनमा रहेका दुई मध्ये एक आप्रवासी केन्द्रमा पठाउने गरेको छ।

ती मध्ये एउटा नरुमा र अर्को पपुआ न्यु गिनीको मानस टापुमा रहेका छन्।

ती केन्द्रको सुरक्षा र सेवासुविधाको जिम्मा लिएका कम्पनीले त्यहाँ कुनै घटना भएमा निश्चित समयभित्र त्यस बारेमा प्रतिवेदन दिनुपर्ने हुन्छ।

पहरेदार, सामाजिक कार्यकर्ता र शिक्षक लगायतका कर्मचारीले लेखेका ती प्रतिवेदन सन् २०१३ को मे महिना देखि सन् २०१५ को अक्टोबर महिना भित्रका हुन्।

ती केन्द्रका बारेमा जानकारी नदिने अस्ट्रेलिया र नरु सरकारको प्रवृत्तिबारे सञ्चार माध्यम र मानव अधिकारवादी समूहहरुले गुनासो गरेका छन्।

धेरै प्रतिवेदन बालबालिकासंग सम्बन्धित छन्।

बालबालिका माथि दुर्व्यवहार भएको आरोप लगाइएको छ र उनीहरुले गम्भीर आघातका कारण असामान्य र विक्षिप्त व्यवहार दर्शाएको उल्लेख गरिएको छ।

दुर्व्यवहार

२३ वटा प्रतिवेदनमा खासगरी युवतीहरुमाथि यौन दुर्व्यवहार गरिएको उल्लेख छ भने सयौंमा ती केन्द्रका मानिसले आफैंलाई हानी गरेको वा गर्ने धम्की दिएको बताइएको छ।

आप्रवास तथा सीमा सुरक्षा विभागका एकजना प्रवक्ताले ती मध्ये धेरै प्रतिवेदनमा अपुष्ट आरोपहरु रहेको बताए।

कुनै पनि घटनाको अभिलेख राख्‍ने र आवश्यक परेमा अनुसन्धान गर्ने प्रणाली चुस्त रहेको प्रमाण ती प्रतिवेदनले दिएको उनले बताए ।

प्रतिवेदनमा उल्लिखित धेरै घटनाहरु पहिले नै सञ्चार माध्यममा आइसकेका पनि उनले जानकारी दिए।

छाया रक्षामन्त्री रिचर्ड मार्ल्सले पारदर्शिता र स्वतन्त्र सुपरीवेक्षणको कमी भएको भन्दै सरकारको आलोचना गरेका छन्।

डुंगामा चढेर अस्ट्रेलिया जाने शरणार्थीको संख्या सन् २०१२ र २०१३ मा ह्वात्तै बढेको थियो र यात्राका क्रममा दर्जनौंको मृत्यु भएको थियो।