एलेप्पोमा सहायता पठाउन तीनघण्टा संघर्षविराम

  • 11 अगस्ट 2016

मानवीय सहायताका कार्यलाई सहज पार्न भन्दै युद्धग्रस्त सिरियाली शहर एलेप्पोमा हरेक दिन तीन घण्टा आफ्ना कारवाही रोक्ने रुसी सेनाले बताएको छ।

उक्त शहरको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा रहेका डाक्टरहरुले त्यहाँका अढाई लाख मानिसहरुलाई सहायता पठाउनका लागि अमेरिकी राष्ट्रपति बराक ओबामालाई आह्वान गरेका छन्।

यद्यपि संयुक्त राष्ट्रसंघले तुरुन्तै प्रतिक्रिया जनाउँदै सहायताको खाँचोमा रहेका लाखौंलाई सहयोग गर्न ३ घण्टाको समय अपुग हुने भन्दै ४८ घन्टा स्थगित गर्न रुसलाई आह्वान गरेको छ।

आह्वान

रुसी रक्षा मन्त्रालयले एलेप्पो सहरमा मानवीय सहायता भित्रिन दिनका लागि उसले त्यहाँ जारी आफ्नो सैन्य कारबाहीलाई बिहीबारदेखि प्रत्येक दिन तीनघन्टाका लागि स्थगित गर्ने बताएको हो।

सबै सैन्य कारबाही, हवाई र तोप हमलालाई स्थानिय समय अनुसार १० देखि १ बजेसम्मका लागि रोकिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी तथा आपतकालीन राहतका संयोजक स्टेफान ओब्रायनले पर्याप्त आपूर्ति सुनिश्चित गर्नका लागि ४८ घन्टा युद्धविराम आवश्यक रहेको बताएका छन्।

उनले भने, "आवश्यक रहेको उक्त मात्रा पुर्याउनका लागि दुइ लेनको बाटो आवश्यक पर्छ र पर्याप्त मात्रामा ट्रक भित्रिनका लागि ४८ घण्टा चाहिन्छ।"

एलेप्पो सहरको उक्त क्षेत्रमा भीडन्त जारी छ र करिब अढाइ लाख मानिहसरु भोकमरीको खतरामा रहेको बताइएको छ।

हालैका दिनमा लडाकूहरुले शहरको पश्चिम क्षेत्रमा भीडन्त तीव्र पारी सरकारी फौजले प्रयोग गर्ने गरेको मुख्य मार्ग टुटाइदिएका छन्।

लडाकूहरुको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रहेका डाक्टरहरुले अमेरिकी राष्ट्रपति बराक ओबामालाई उक्त क्षेत्रमा जाने स्थायी बाटो खोलिदिन आह्वान गर्दै एक पत्र लेखेका छन्।

२९ जना डाक्टरहरुले हस्ताक्षर गरेको पत्रमा, यदी अहिलेकै दरमा औषधोपचारको सुविधामाथि आक्रमण निरन्तर भए अबको एक महिनाभित्र त्यहाँ केही बाँकी नरहने चेतावनी दिइएको छ।

अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरिएको उक्त पत्रमा एलेप्पो शहरमाथि हवाई हमला रोक्नका लागि त्यहाँ उडान गर्न नपाइने नियम लगाउन भनिएको छ।

डाक्टरहरुले उक्त पत्रमा सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध पाँच वर्ष यता भएको विद्रोहमा आफुहरु हिंसा र असंख्य विरामी साथी र सहकर्मीहरुको पीडादायी मृत्युको साक्षी बनेको बताएका छन्।

उनीहरुले भनेका छन्, गत महिना औषधोपचारको सुविधा दिइरहेका ४२ वटा ठाउँमा हमला भएका थिए।

ती मध्ये उनीहरुले काम गर्ने अस्पतालमा १५ पटक हमला भएका छन्।

डाक्टरहरुले आफ्नो पत्रमा उनीहरुले सहायता चाहिनेहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै अमेरिकी राष्ट्रपति ओबामालाई पनि उनको कर्तव्य पूरा गर्न भनेका छन्।

अमेरिकाको विदेश मन्त्रालयले भीडन्त रोक्ने कुनै पनि कदमको स्वागत गरेको छ तर युद्धविरामलाई सबै पार्टीले नियाल्नुपर्ने बताएको छ।