जर्मनीमा आतंकवाद विरोधी विभिन्न कदम

  • 11 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

प्रस्तावित सुधार अन्तर्गत दोहोरो नागरिकता भएका जर्मन नागरिकले विदेशमा रहेका उग्रवादी ईस्लामवादी समूहका पक्षमा लडेमा उनीहरुको जर्मन नागरिकता रद्द गरिने छ।

आन्तरिक मामिलामन्त्री टमस ड मेज्याले विदेशी अपराधीहरुलाई आफ्नै देश फर्काउने प्रकिया छोटो बनाईने र प्रहरीलाई थप जनशक्ति, उपकरण र निगरानी गर्ने अधिकार दिईने योजनाको पनि घोषणा गरेका छन्।

गत महिना वर्जबर्ग र आन्सबाखमा भएका दुईवटा आक्रमणले जर्मनीलाई स्तब्ध तुल्याइदिएका थिए।

राजनीतिक मुद्दा

सरकारले सार्वजनिक गरेको प्रस्तावमा आतंकवादलाई प्रोत्साहन दिने कामलाई अपराध भनिएको छ।

जर्मनीले आगामी वर्ष आमचुनाव र त्यो भन्दा अघि क्षेत्रीय चुनावको तयारी गरिरहेको समयमा सुरक्षाको मुद्दा अत्यन्त राजनीतिक बनेको छ।

बिरामीको गोपनीयताको सम्मान गर्नुपर्ने चिकित्सकको कर्तव्य हो भन्ने जर्मनीको संविधानमा उल्लिखित छ।

तर ड मेज्याले वरिष्ठ चिकित्सकहरुलाई भेटेर उपचाररत बिरामीबाट आतंकवादको जोखिम रहेको शंका लागेमा कसरी प्रहरीलाई सजिलै जानकारी दिने भन्ने बारेमा छलफल गर्ने बताएका छन्।

गोपनीयता भंग गरेको खण्डमा जर्मन चिकित्सकहरुले एक वर्षको जेल सजाय भोग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने हुनसक्छ।

ड मेज्याले नक्कली पहिचान बनाएर जर्मनीमा बस्ने अपराधीहरुलाई भने नसहिने बताएका छन्।

तर उनले सार्वजनिक स्थलमा बुर्कालाई निषेध गर्न भने अस्वीकार गरे।

उच्च जोखिम

बभेरियाको गुप्तचर संस्थाका उपप्रमुख म्यानफ्रेड हाउजरले जर्मनीमा ठूलो आक्रमणको जोखिम उच्च रहेको बीबीसीलाई बताएका छन्।

ईस्लामिक स्टेट भनिने समूहले मानिसहरुलाई शरणार्थीका रुपमा जर्मनी पठाएको भन्ने सयौं प्रतिवेदनमाथि अनुसन्धान गरिरहेको उनले बताएका छन्।

ड मेज्याले ३ हजार २५० प्रहरी लगायत राष्ट्रिय सुरक्षासंग सम्बन्धित ४ हजार ६०० वटा नयाँ पद श्रृजना गरेको र प्रहरीको उपकरणमा सुधार गरेको हुनाले उनले बृहत्तर समर्थन पाउने अपेक्षा गरिएको छ।

जर्मनीले शहरी क्षेत्रमा भिडियो निगरानी बढाउने, साईबर मामिला हेर्ने नयाँ प्रहरी विभाग श्रृजना गर्ने र १४ वर्षकोउमेरसम्मका सन्दिग्धहरुमाथि अनुसन्धान गर्न थाल्ने सम्भावना रहेको छ।

आक्रमणको योजना बनाउन र हतियार खरीद गर्न प्रयोग गरिने ईन्टरनेट सञ्जालहरु अवरुद्ध गर्नका लागि ठूलो प्रयास गरिने ड मेज्याले बताएका छन्।