प्रधानमन्त्री प्रचण्ड थप मन्त्री छान्दै

  • 12 अगस्ट 2016
तस्वीर कपीराइट cmprachanda.com
Image caption पालै पालो सरकारको नेतृत्व गर्ने सहमतिमा माओवादी केन्द्र र कांग्रेसबीच नयाँ गठबन्धन बनेको हो

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलका थप मन्त्रीको टुंगो लगाउन थप समय मागेका छन्।

आफूलाई मन्त्री छान्ने अधिकार दिएको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले 'आज-भोली (शुक्रबार-शनिबार) सम्म' मन्त्रीको टुंगो लगाउने अवगत गराएको उनी निकट नेता हरिबोल गजुरेलले बताए।

पार्टीका वरिष्ठ नेता रहेको पार्टी केन्द्रीय कार्यालयको यसअघिकै बैठकले प्रचण्डलाई त्यो जिम्मा दिएको थियो।

मन्त्री बन्ने आकांक्षी धेरै भएकाले प्रचण्डलाई सकस परेको हो? नेता गजुरेलले भने, “आकांक्षी त हुने नै भए, तर सबै पक्षलाई समेटेर उहाँले सन्तुलित निर्णय लिनुहुन्छ।”

पर्खिने कि!

सरकारको एउटा मुख्य दल नेपाली कांग्रेसले काठमाण्डूमा जारी आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशनपछि आफ्नोतर्फका थप मन्त्री पठाउने जनाएको छ।

नेता गजुरेेलका अनुसार कांग्रेससँगै मन्त्रिपरिषद् विस्तार गर्ने कुरा भएमा थप एक-दुई दिन ढिलाई हुनसक्छ।

प्रधानमन्त्रीले राप्रपा र नेकपा संयुक्तलाई सरकारमा सहभागी गराइसकेका छन्।

केपी ओली नेतृत्वको सरकारलाई अन्तिम क्षणमा छाडेर प्रचण्डलाई सघाउन पुगेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका एकजना नेताले बीबीसीसँगको कुराकानीमा सरकारमा जानेबारे दुई प्रमुख दलसँग सहमति भइसकेको बताएका थिए।

'मोर्चाको अवरोध'

तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आपत्तिका कारण विजयकुमार गच्छदार नेतृत्वको दललाई सरकारमा सहभागि गराउने निर्णय हुन नसकेको नेता गजुरेलले बताए।

उनले भने, “संविधान जारी गर्नुअघिको सहमतिमा र ओली सरकार छाडेर हाम्रो अध्यक्षलाई प्रधानमन्त्री बनाउन गच्छदारजीले निर्वाह गरेको भूमिकाप्रति हामी सकारात्मक नै छौं। तर मधेशवादी दलको केही आपत्ति रहेको सुनिन्छ।”

प्रधानमन्त्री चुनावमा मधेसी मोर्चा सहितको संघीय गठबन्धनको समर्थन नपाएर चुनाव अनिर्णित हुनसक्ने सम्भावित अवस्थामा फोरम लोकतान्त्रिक र राप्रपा प्रचण्डको निम्ति ठूलो भरोसा बनेका थिए।

तर आन्दोलनकारी गठबन्धनलाई सहमतिमा ल्याउने जगमा उठेको सरकार भएकाले शक्ति बाँडफाँडमा उसको इच्छालाई पनि प्रधानमन्त्रीले ख्याल गरेको हुनसक्छ।