प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य: निधि

  • 13 अगस्ट 2016
तस्वीर कपीराइट PTI
Image caption दिल्लीमा उपप्रधानमन्त्री निधिले उच्चस्तरीय भेटवार्ता गर्ने अपेक्षा छ

प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रुपमा एक साताभित्रै भारत जाने भनिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले 'छिट्टै' हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका एजेण्डाबारे दिल्लीमा गृहकार्य गर्ने बताएका छन्।

त्यसैगरी भारतका राष्ट्रपतिलाई नेपालका राष्ट्रपतिको तर्फबाट नेपाल भ्रमणमा निम्त्याउने र नेपालको राष्ट्रपतिको स्थगित भारत भ्रमण पुन: गराउनेबारे पनि कुराकानी हुने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले दुई उपप्रधानमन्त्रीहरु निधिलाई भारत र कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गत बिहीबार गरेका हुन्।

दुवै देशका राष्ट्रपतिको संभावित नेपाल भ्रमणको वातावरण बनाउनु विशेष प्रतिनिधिहरुको मुख्य उद्देश्य रहेको बताइएको छ।

गृहकार्य

उपप्रधान तथा गृहमन्त्री निधिले आफ्नो भ्रमणको एउटा मुख्य उद्देश्य प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एजेण्डमाथि छलफल गर्नु पनि रहेको बताए।

उनी भन्छन्, "प्रधानमन्त्री पुष्पकमलजीको भारत भ्रमणका बेलामा गर्नुपर्ने छलफलको विषयमा गृहकार्य गर्नेछु।" उनले नेपाल र भारतका राष्ट्रपतिको एक अर्काका देशमा संभावित भ्रमणहरुबारे पनि कुराकानी गर्नेछन्।

भ्रमणको उद्देश्यबारे उनी भन्छन्, "भारतको राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपालको राष्ट्रपति विद्या भण्डारीको तर्फबाट निम्ता दिने, नेपाल भ्रमणको लागि नेपाल भ्रमण सम्भव बनाउन वातावरण बनाउने, त्यस्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीको भारतमा भ्रमण छिटो गराउने। त्यसपछि राष्ट्रपति विद्या भण्डारीको स्थगित भएको भारत भ्रमणको बारे पनि कुराकानी गर्ने।" निधिले दिल्लीमा को-को सँग भेट गर्नेछन् भन्ने गृहकार्य भइरहेको बताइएको छ।

'प्रगाढ' सम्बन्ध

उनले थपे, "राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीजी, विदेशमन्त्री सुषमा स्वराज र मेरा समकक्षी राजनाथसँग भेटने मन छ।"

उपप्रधानमन्त्री महरा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सहज तुल्याउन आउँदो साता चीन जानेछन्।

नेपालका लागि अति महत्वपूर्ण मुलुकहरुबाट हुने उच्चस्तरीय भ्रमणले सम्बन्ध बलियो बनाउने परराष्ट्र मामिलाविद्हरु बताउँछन्।

नेपालको आन्तरिक मामिलामा विशेष चासो राख्दै आएको भारत र पछिल्लो समयमा भारतपथतर्फ लम्केको भनिएको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तारतम्यले नेपाललाई दुई मुलुकले दिएको उच्च महत्व झल्किनेछ।

तर उच्चस्तरीय भ्रमण सद्भाव भन्दा प्रतिस्पर्धा बन्न पुग्यो भने र नेपाललाई आफूतिर ढल्काउनमा केन्द्रित रहन पुग्यो भने त्यसले नेपालका सर्वसाधारणलाई बेखुशी तुल्याउने जानकारहरु बताउँछन्।