शहीद घोषणा गर्न मृतकको सूची पेस

  • 14 अगस्ट 2016

पछिल्लो तराई आन्दोलनका क्रममा मारिएका ४५ जनासहित ६८ जनालाई शहीद घोषणा गर्न भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई मृतकहरुको सूची बुझाएको छ।

गृहमन्त्रीलाई आइतबार बुझाइएको सूचीमा आन्दोलनका क्रममा ज्यान गुमाएका १२ जना प्रहरीको नाम पनि समेटिएको सद्भावना पार्टीका एकजना नेताले बताए।

आन्दोलनका क्रममा आफूहरुका कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरिएको मोर्चामा आबद्ध अर्का एक नेताले बताए।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको राजधानीमा आइतबार बसेको बैठकले शहीद घोषणाका निम्ति पछिल्लो आन्दोलनका क्रममा ज्यान गुमाएका मानिसहरुको सूची टुंगो लगाएको नेताहरुले बताएका छन्।

सूची

सूचीमा तराई आन्दोलनका क्रममा मारिएका ४५ जना, ३० दलीय आन्दोलनका क्रममा मारिएका एकजना, सेवा केन्द्र विस्तारसम्बन्धी विरोधका क्रममा मारिएका दुई जना, सिम्रौनगढ आन्दोलनमा मारिएका एकजनाको नाम समेटिएको छ।

त्यसैगरी कैलाली र बाँकेमा मारिएका १२ जना प्रहरी र सीमांकनसम्बन्धी विरोधका क्रममा मारिएका सुर्खेत, लम्जुङ्ग, तनहुँ र जुम्लाका ६ जनालाई पनि शहीद घोषणा गर्न भन्दै मोर्चाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई सूची बुझाएको छ।

मोर्चामा आबद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, “हामीले माननीय उपप्रधानमन्त्रीज्यू समक्ष शहीदहरुको नामावली प्रस्तुत गरेका छौँ। जसमा हामीले तराई मधेश आन्दोलनताका मारिएका ४५ जना, हुम्ला, जुम्ला र सुर्खेतमा सीमांकनसम्बन्धी विवादमा मारिएका शहीदहरु र प्रहरी प्रशासनतर्फ मारिएका १२ जनासहित ६८ जनाको सूची बनाएर नाम प्रस्तुत गरेका छौँ।”

प्रधानमन्त्री निर्वाचनअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मोर्चा आबद्ध संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिको मर्म अनुरुप शहीद घोषणा निम्ति मृतकको सूची बुझाइएको नेताहरुले बताएका छन्।

मुद्दा

तीन बुँदे सहमति अनुसार घाइतेको उपचार र आन्दोलनका क्रममा मोर्चाका नेता तथा कार्यकर्तामाथि चलाइएका मुद्दा फिर्ता लिने सम्बन्धमा समेत सरकारलाई आवश्यक कदम चाल्न आफूहरुले आग्रह गरेको तराई मधेश सद्भावना पार्टीका नेता रामनरेश रायले बताए।

मुद्दा चलाइएका नेता तथा कार्यकर्ताको संख्याबारे जिज्ञासा राख्दा उनले भने, “टुंगोमा पुगिसकेको छैन। नामावली आइरहेको छ। करिब तीन साढे तीन सय जनामाथि मुद्दा लगाइएको छ र बाँकी नाम संकलन गर्ने काम भइरहेको छ।”

मोर्चाका नेताहरुका अनुसार आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नका निम्ति उनीहरुले आवश्यक प्रक्रिया थाल्न गृहमन्त्रीलाई आग्रह गरेका थिए।

गृहमन्त्रीबाट सकारात्मक जवाफ पाएको उनीहरुले बताएका छन्।