गोप्य सूचना दिने खेलाडीको एकाउन्ट ह्याक

  • 14 अगस्ट 2016
तस्वीर कपीराइट AFP GETTY

खेलकुदमा प्रतिबन्धित औषधीको प्रयोग विरुद्धको निकायलाई गोप्य सूचना दिएकी रुसी एथलेटिक खेलाडी युलिया स्टेपनोभाको एकाउन्ट ह्याक गरिएको अधिकारीहरुले बताएका छन्।

रुसको राज्य प्रायोजित डोपिङ कार्यक्रम विरुद्ध सूचना दिएर छानविन गर्न मद्दत गरेकी उनी हाल लुकेर बसिरहेकी छन्।

वाडाले आफ्नो वेबसाइट ह्याक गरिएको र ८०० मीटर दौडकी खेलाडी स्टेपनोभाको अकाउन्ट खेलाडी बाहेक अरु कसैले प्रयोग गरेको पाइएको बताएको छ।

उक्त घटनापछि प्रहरी र अन्य कानुन कार्यान्वयन निकायसँग सम्पर्कमा रहेको उक्त संस्थाले जनाएको छ।

सुरक्षा

वाडाले स्थापित गरेको प्रतिबन्धित औषधी प्रयोगको जाँच सम्बन्धी प्रणालीले खेलाडीहरुले जुनसुकै स्थानमा रहँदा पनि परिक्षणमा सघाउने गरि आफ्नो विवरण राख्न अनुमति दिने गरेको छ।

स्टेपनोभाले रुसी डोपिङ कार्यक्रम विरुद्ध वाडालाई प्रमाणहरु प्रस्तुत गरेपछि उनी र पूर्व रुसी डोपिङ अधिकारी रहेका उनका श्रीमान भिटाली हाल गोप्य स्थानमा लुकिरहेका छन्।

प्रमाण उपलब्ध गराएर रुस छाडेका उनीहरुले अघिल्लो महिना बीबीसीलाई नयाँ स्थानमा आफुहरुले सुरक्षित महसुस गरेको बताए।

तस्वीर कपीराइट Reuters

आफुहरुले दिएको सूचना प्रति रुसी खेलाडी र देशभित्रका ठूलो संख्याका मानिसहरुबाट घृणा पाएको भन्दै उनीहरुले तत्कालै रुस फर्कन सक्ने अवस्था नरहेको बताएका थिए।

प्रतिबन्ध

रुसको एथलेटिक्स टोलीलाई रिओ ओलिम्पिकमा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ।

सन् २०१३ देखि २ वर्षको प्रतिबन्ध भोगेकी उनले अन्तरराष्ट्रिय ओलिम्पिक कमिटिले तटस्थ टोलीबाट खेल्न आफुलाई बोलाउने अपेक्षा गरेकी थिइन्।

तर उनले आइओसीले आफुमाथि लगाएको प्रतिबन्धमा प्रश्न नउठाउने निर्णय गरिन्।

यसैबीच लङ जम्पकी रुसी खेलाडी दार्या क्लिसीनालाई विश्व एथलेटिक्सको निकाय आइएएफले प्राप्त नयाँ सूचनाका आधारमा रिओ ओलिम्पिक प्रतिष्पर्धाबाट बाहिर पठाएको जनाएको छ।

उनी ट्रयाक एण्ड फिल्डमा सहभागी हुने अनुमति पाएकी एक मात्र रुसी खेलाडी थिइन्।