शिशु अपहरण आरोपमा १० वर्ष जेल

  • 16 अगस्ट 2016

दक्षिण अफ्रिकाको एउटा अदालतले एकजना महिलालाई २० वर्षअघि एक शिशुलाई अपहरण गरेको अपराधमा १० वर्षको जेल सजाय सुनाएको छ।

जेफनी नर्स नामक ती शिशुलाई केप टाउन अस्पतालमा उनकी आमाको ओछ्यानबाट चोरिएको थियो।

अपहरणकर्ता ५२ वर्षीया महिलाले छल गरेको र अपहरण गरेको आरोपलाई अस्वीकार गरेकी थिइन्ई।

न्यायाधीशले ती महिलाले अदालतमा झुटो बोलेको र लामो समयसम्म पश्चाताप गरेको जस्तो नदेखाएको बताए।

'जेफनी'

ती बालिकाले विद्यालयमा आफू जस्तै देखिने अर्की बालिकालाई साथी बनाएपछि शंका उत्पन्न भएको थियो।

डीएनए अर्थात वंशाणु परीक्षणले उनीहरु दिदीबहिनी भएको देखाएको थियो र ती महिलालाई सन् २०१५ मा गिरफ्तार गरिएको थियो।

अपहरित किशोरीलाई जन्म दिने मातापिताले उनलाई जेफनी नाम दिएका थिए।

तर उनको पहिचान नखुलाउनका लागि पछि राखिएको नाम भने बताईएको छैन।

अपरहणकर्ता 'आमा'

आफूलाई जन्म दिने मातापितासँग जेफनीले सम्बन्ध राख्न नचाहेको र आफूलाई अपहरण गर्ने महिलालाई आमा मानेको स्थानीय सञ्चारमाध्यमले बताउँदै आएका छन्।

उनले अपहरणकर्ताको पति अर्थात आफूले बाबु मानेको मान्छेसँगै बस्ने निर्णय गरेकी छिन्।

सुचीकार रहेकी अपहरणकर्ताले जेफनीलाई उनका वास्तविक बाबुआमाको घरभन्दा केही किलोमिटर पर मात्रै आफ्नै छोरी सरह हुर्काएकी थिईन्।

उनलाई ती शिशु एकजना महिलाले रेल स्टेशनमा दिएको भन्ने उनको दाबीलाई न्यायाधीशले दन्त्यकथा भनेका छन्।

अदालतबाहिर जेफनीकी वास्तविक हजुरआमाले जेलसजायको अवधीप्रति आफूखुशी नभएको तर अब परिवारले जेफनीसँग भेट्ने र सम्बन्ध बढाउने आशा राखेको बताएकी छिन्।

हराएकी छोरीको जन्मोत्सव

Image caption अपहरित बालिकाकी वास्तविक आमा सेलेस्ट नर्सले प्रत्येक वर्ष आफ्नी हराएकी छोरीको जन्मदिन मनाउने गर्थिन्।

जेफनीका वास्तविक बाबुआमाले हरेक वर्ष उनको ज्नमदिन मनाउने गर्दथे र स्थानीय सञ्चारमाध्यमले त्यस विषयमा खबरहरु प्रकाशित गर्ने गर्दथ्यो।

त्यसैले अपहरणकर्ताले जेफनीका बाबुआमाले अझै उनलाई खोजिरहेका छन् भन्ने थाहा नपाउने हुनै सक्दैन भनेर न्यायाधीशले बताएका छन्।

उनीसँग ती शिशुलाई फर्काउनलाई पर्यापत समय भएको तर उनले त्यसो नगरेको पनि न्यायाधीशले बताए ।

उनले अदालतमा झुटो बोलेकोमा ती महिलाको आलोचना गरे।

न्यायाधीशले फैसला सुनाउँदा ती ५२ वर्षीया महिला कुनै प्रतिक्रिया बिना सुनिरहेकी थिइन्।

उनको परिवार र जेफनीका वास्तविक बाबुआमाका परिवारले अदालत भरिएको थियो।

तर नर्स परिवारको जीत भने केही तीतो पनि थियो।

जेफनीलाई अपहरण गर्ने महिला जेल परिन् तर उनीहरुकी छोरीले भने अपहरणकर्ताकै पतिसँग बसिरहने निर्णय गरिन्।