ग्वान्टानामोबाट १५ कैदी युएइ सारिए

  • 16 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

पेन्टागनले भनेको छ, क्युबास्थित ग्वान्टानामो बन्दीगृहका १५ जना कैदीलाई युनाइटेड अरब एमिरेट्स युएईमा पठाइएको छ।

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा बन्दीलाई स्थानान्तरण गरिएको यो सबैभन्दा ठूलो संख्या हो।

यो स्थानान्तरण सँगै ग्वान्टानामोमा रहेको अमेरिकाको जलसेनाको अखडामा अब बन्दीको संख्या ६१ मा झरेको छ।

अमेरिकाका सञ्चारमाध्यमहरुले त्यसरी पठाइएका कैदीमध्य १२ जना यमनका र तीनजना अफगानिस्तानका नागरिक भएको बताएका छन्।

आभार

बीबीसी संवाददाता वारेन बुलले भने, “पेन्टागनको विज्ञप्तिले भनेको छ, अमेरिकाले उसकै शब्दमा बन्दीगृहलाई बन्द गर्न चालिरहेको प्रयासमा युनाइटेड अरब एमिरेट्सले देखाएको सांकेतिक मनावीय समर्थन प्रति अमेरिका आभारी छ।”

धेरैजसो बन्दीहरुलाई कुनै अभियोग वा सुनुवाई बिना नै एकदशक भन्दा बढी समय त्यहाँ राखिएको थियो।

सन् २००१ को सेप्टेम्बर ११ मा भएका हमला लगत्तै खुलेको उक्त बन्दीगृहमा ७ सय भन्दा बढी मानिसहरुलाई राखिएको थियो।

तिक्तता

गत एप्रिलमा ९ जना यमनी कैदीहरुलाई साउदी अरेबिया पठाइएको थियो।

ओबामाले आउँदो नोभेम्बरमा आफ्नो कार्यकाल सकिनु अघि नै उक्त बन्दीगृह बन्द गर्न चाहेका थिए।

तर त्यस योजनामा रिपब्लिकनको बाहुल्यता रहेको कंग्रेसमले देखाएको विरोधबारे उनले पटकपटक तिक्तता व्यक्त गरेका छन्।

ह्वाइट हाउसले बाँकी रहेका बन्दीलाई अमेरिका पठाउन चाहेको छ तर कंग्रेसले त्यसमा विरोध जनाएको छ।