रुसद्वारा इरानी हवाईअड्डाको प्रयोग

  • 16 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

रुसले सिरियामा रहेका जिहादी समूहहरुविरुद्ध हवाइ हमला गर्नका लागि पहिलोपटक इरानको हवाइअड्डाको प्रयोग गर्न थालेको छ।

रुसी रक्षा मन्त्रालयले लामो दूरीमा बम प्रहार गर्ने विमानहरु र लडाकु विमानहरु पश्चिमी इरानस्थित हमेदान हवाइअड्डाबाट उडेको बताएको छ।

ती आक्रमणले एलेप्पो, इदलिब र देइर अजोर प्रान्तमा इस्लामिक स्टेट र अन्य लडाकु समूहलाई निशाना बनाएको र ठूलो संख्यामा विद्रोही लडाकुहरुलाई मारेको उक्त मन्त्रालयले बताएको छ।

यो भन्दा अघि मस्कोले सिरियाभित्रैबाट आक्रमण गर्ने गरेको थियो।

मुख्य समर्थक

रुसले गत वर्ष सिरियाका राष्ट्रपतिलाई समर्थन गर्ने अभियान शुरु गरेदेखि तेस्रो देशबाट सिरियामाथि आक्रमण गरेको यो पहिलोपटक भएको बताइएको छ।

इरान सिरियाका राष्ट्रपति बशर अल असदको मुख्य क्षेत्रीय समर्थक हो र उनका विरुद्धमा सन् २०११ मा एउटा आन्दोलन भएदेखि उनलाई सैनिक र आर्थिक सहयोग गरिरहेको छ।

रुस र इरानले हालैका केही महिनामा सैनिक सहकार्य वृद्धि गर्ने विषयमा वार्ता गरिरहेका छन्।

गत हप्ता रुसले इरान र इराकलाई सिरियामा आतंकवादीहरुमाथि आक्रमण गर्नका निम्ति रुसी विमानहरुलाई उनीहरुका हवाइक्षेत्रबाट जाने अनुमति दिने आग्रह गरेको थियो।

बीबीसीका रक्षा र कूटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, हाल आक्रमणमा प्रयोग गरिएका विमानहरु यो भन्दा अघि नै द्वन्द्वमा संलग्न थिए, तर ती विमान दक्षिणी रुसबाट उड्दथे।

ती विमानलाई इरानबाट सञ्चालन गरिंदा तिनीहरुको कारवाहीको समय निकै घटने छ।

न्यानो सम्बन्ध

यसरी विमान खटाउनुको अर्थ होः एलेप्पोभित्र र वरिपरि चर्केको भिडन्तकै अनुपातमा रुसी हवाइ आक्रमण बढिरहेको छ।

र, त्यो मस्को र तेहरानबीचको बढ्दो न्यानो सम्बन्धको प्रतीक पनि हो।

रुसका रक्षा मन्त्रीले एलेप्पो वरिपरका इस्लामिक स्टेट लडाकुहरुमाथिको आक्रमणबारे अमेरिकासँग सहमतिको नजिक भएको संकेत गरेको एक दिनपछि उक्त आक्रमण भएको हो।

तर अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता एलिजबेथ ट्रुडोले अहिले आफूसँग भन्ने कुरा केही नभएको बताइन्।

एउटा छुट्टै घटनामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले रुसी र सिरियाली लडाकु विमानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै गैरसैनिक क्षेत्रमा आक्रमण गरिरहेको आरोप लगाएको थियो।

मस्कोले उक्त आरोप अस्वीकार गरेको छ।