विगतका सम्झौता कार्यान्वयन होस: चीन

  • 17 अगस्ट 2016
oli तस्वीर कपीराइट Reuters
Image caption पूर्व प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला पारवाहन लगायतका सम्झौतामा हस्ताक्षर भएको थियो।

चीनले केपी ओली नेतृत्वको सरकारको पालामा नेपालसंग भएका पारवहन लगायतका महत्वपूर्ण सम्झौता तथा सहमतिको छिटो कार्यान्वयनका लागि कार्ययोजना ल्याउन नेपाली पक्षलाई आग्रह गरेको अधिकारीहरुले बताएका छन्।

बुधबार बेइजिङ्गमा आफूसंग भेटेका प्रधानमन्त्री प्रचण्डका विशेष दूत एवम् उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले विगतका सम्झौताहरु यथाशीघ्र कार्यान्वयन गर्न चीनले चाहेको बताएको जनाइएको छ।

करिब पांच महिनाअघि भएका सम्झौता तथा सहमतिहरुलाई अघि बढाउन भन्दै नेपालले परराष्ट्रसचिवको नेतृत्वमा एउटा विशेष समिति नै बनाएको छ तर त्यसको गृहकार्य विषयगत मन्त्रालयहरुमै अड्किए जस्तो देखिन्छ।

सन्देश

माओवादी केन्द्र र कांग्रेसको नयां सत्ता गठवन्धनसंगै, पूर्ववर्ती सरकारले चीनसंग गरेका सम्झौता-सहमतिको भविष्यलाई लिएर जस्ता खाले चिन्ता नेपालको अधिकांश वृत्तमा देखियो त्यसको छाया बेइजिंगमा पनि परेको प्रतीत हुन्छ।

महराले बुधबार भेटेका चिनियां प्रधानमन्त्री ली खच्याङ्ग होउन वा मंगलबार कुराकानी गरेका विदेशमन्त्री वाङ् यी, ती दुवैको एकैखाले सन्देश रहेको बताइएको छ।

उक्त सन्देश सुनाउंदै बेइजिङ्गस्थित नेपाली कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरले भने, “चीनका प्रधानमन्त्रीले विगतको सरकारले गरेका सम्झौता कार्यान्वयनका लागि अहिलेको सरकारले कार्ययोजना ल्याए सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताउनुभयो”।

जवाफमा महराले सरकार फेरिएपनि चीनप्रतिको काठमाण्डू नीतिमा कुनै बदलाव नआउने भन्दै चिनियाँ प्रधानमन्त्रीलाई आश्वस्त पार्ने कोसिस गरेको बताइएको छ।

प्रचण्डको सत्तारोहणमा दक्षिणी छिमेकी भारतपनि जोडिएको अनुमानहरुबीच उनको विशेष दूतका रुपमा बेइजिङ्ग पुगेका महरा, चिनियां चिन्तालाई सम्बोधन गर्न कति सफल भए, त्यो विगतका सम्झौता-कार्यान्वयनको कसीमा जांचिने ठानिएको छ।

कूटनीति

चिनियां राष्ट्रपति वा प्रधानमन्त्रीलाई नेपाल ल्याउन महराले आफ्नो चीन बसाइमा निमन्त्रणा पनि दिए तर विदेशमन्त्रालयहरुबीचको समन्वयमा उपयुक्त मिति तय गर्ने औपचारिक जवाफबाहेक आश्वास्त भइहाल्ने संकेत उनले पाएजस्तो देखिदैंन।

यता भारतबाट पनि राष्ट्रपतिको भ्रमण गराउने र संविधान घोषणालगत्तैको नाकाबन्दीपछि नेपाल भारतसम्बन्धमा कायमै देखिएको अविश्वास हटाउन भन्दै प्रचण्डकै विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार दिल्ली जांदैछन्।

उनले भने, “भारतीय राष्ट्रपतिलाई भ्रमणको निम्तो दिने, प्रधानमन्त्री प्रचण्डको भारत यात्राको आधार तयार पार्ने तथा नेपाल-भारतबीच सम्बन्ध सुमधुर पार्नेबारे कुरा हुनेछ”।

भारत र चीन दुवै छिमेकीलाई विश्वासमा लिने प्रचण्डको यस्तो विशेष दूत कूटनीतिको कतिपयले प्रशंसा गरेका छन् भने कति चाहिं, सम्बन्ध सामान्य रहेकै अवस्थामा उक्त कदम चालिएको भन्दै त्यसलाई अपरिपक्वताको संज्ञा दिन्छन्।