प्रहरीको कारवाही न्यायसंगत: ट्रम्प

  • 17 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पले भनेका छन्, गत शनिबार विस्कन्सिन राज्यमा एकजना अश्वेत पुरुषको प्रहरीले गोली हानी हत्या गरेको घटना प्रारम्भिक प्रमाणहरुले न्यायसंगत देखाएका छन्।

अफ्रिकी अमेरिकीको बाहुल्यता रहेको सो क्षेत्रमा भएको सिल्भिल स्मिथको हत्याले त्यहाँ केही दिनसम्म प्रदर्शन र दंगा भएका थिए।

डोनल्ड ट्रम्प आफ्नो चुनावी प्रचारप्रसारका लागि अहिले मिल्वाकीमा छन् र त्यहाँ उनले शनिबार भएको घातक घटनाबारे टेलिभिजनलाई अन्तर्वार्ता दिएका हुन्।

झडप

ट्रम्पले भनेका छन्, घटनाबारे उनको बुझाइ अनुसार सिल्भिल स्मिथलाई गोली हान्ने अश्वेत प्रहरी अधिकारीलाई आफ्नो टाउकोमाथि बन्दूक तेर्स्याइएको भान भएपछि उनले गोली प्रहार गरेका हुन्।

ट्रम्पले त्यस्तो अवस्थामा प्रहरी अधिकारीको सो कारवाही न्यायसंगत भएको बताए।

ट्रम्पले गोली हानिएको बेलाको भिडियो फुटेजले प्रहरीको कारबाही ठीक थियो कि थिएन भन्ने देखाउन मद्दत गर्न सक्छ भनेका छन्।

तर एक स्पष्ट धारणा राख्दै उनले के पनि भने भने यदी त्यो साँचो भए मानिसहरुले झडपहरु गर्न हुँदैनथ्यो।

अग्रसर

ट्रम्पले कानुनहरु मान्नुपर्ने नभए देश नै नरहने बताए।

प्रहरीले गोली हानेर हत्या गरिएका केही घातक घटनाले अमेरिकाभर प्रदर्शनहरु भएका थिए।

प्रदर्शनकारीहरुले अफ्रिकी अमेरिकीविरुद्ध घातक बल प्रयोग गर्न प्रहरीहरु निकै अग्रसर हुने बताएका छन्।