प्यारालिम्पिक खेलमा बजेट कटौति

  • 20 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

ब्रजिलको रियोमा अर्को महिना हुने प्यारालिम्पिक्स खेलकूद प्रतियोगितामा भारी बजेट कटौति हुने भएको अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले जनाएको छ।

खेलस्थल, खेलमा परिचालित कर्मचारी तथा यातायातमा यी कटौति लागु हुने बताइएको छ।

थोरै टिकट विक्री अनि अन्य आर्थिक समस्याका कारण यी खेलकूद प्रभावित हुने अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले जनाएको छ।

प्रभाव

कमिटिका अध्यक्ष फिलिप क्रेभनले प्यारालिम्पिक्स खेलकूदको ५६ वर्षे इतिहासमा पहिले यस्तो स्थिति कहिल्यै नबेहोरेको बताए।

उनले भने, “यी कटौति हामी र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि मिलेर १२ महिना अघि सहमति गरेका कटौतिमा पनि थप हुन्। यसले गेम्सका प्रत्येक सरोकारवालालाई प्रभाव पार्नेछ।”

प्रतियोगिता शुरु हुन १९ दिनमात्र बाँकी रहँदा रियोको आयोजक समितिले पर्याप्त स्रोत व्यवस्थापन गर्न नसकेको बताइएको छ।

यसको मूल कारण ब्रजिलको धरमराइरहेको अर्थतन्त्र अनि केवल १२ प्रतिशत टिकट विक्री हुनुलाई मानिएको छ।

खेलाडीहरुलाई रियोमा आवतजावतका लागि दिनुपर्ने करीब ७० लाख पाउण्ड तीन साता ढिलो गरी उपलब्ध भएको छ।

यातायात खर्चको पहिलो किस्ता अब वितरण हुनेछन् तर कमिटिको चिन्ता के छ भने यो ढिलाईले कतिपय देशको सहभागितानै जोखिममा पर्न सक्छ।

तर यी समस्या भएपनि यो खेलकूदले ब्रजिल तथा ल्याटिन अमेरिकामा सकारात्मक सामाजिक परिवर्तन गराउन भूमिका खेल्ने क्रेभनले विश्वास गरेका छन्।