‘प्रमले भदौ अन्त्यतिर भारत भ्रमण गर्ने’

  • 20 अगस्ट 2016
प्रचण्ड, मोदी तस्वीर कपीराइट PMO India
Image caption छिटै नेपाल तथा भारतका प्रधानमन्त्रीहरुबीच भेट हुने निधिले बताए (फाइल फोटो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भदौ ३१ गते भेटवार्ता गर्ने गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गरिएको उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको विशेषदूतका रुपमा दिल्ली पुगेका निधिले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथको ‘‍धार्मिक’ भ्रमण गर्नका निम्ति निम्तो दिएको बताए।

बीबीसीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे निधिले भने, “हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण मध्य सेप्टेम्बरमा हुन सक्छ। सेप्टेम्बर १६ तारिखमा भेटघाट हुने गरी हुन सक्छ। लगभग निश्चित हो।”

निधिका अनुसार उनले अर्को वर्षको माघभित्र तीनवटै तहको निर्वाचन गराउने र मधेशी मोर्चासँगको सहमति अनुसार संविधानलाई ‘सर्वस्वीकार्य’ बनाउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सरकारको प्राथमिकताबारे भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए।

निम्तो

त्यसमा मोदीले खुशी व्यक्त गर्नुका साथै समर्थन जनाएको निधिले बताए।

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणको निम्तो दिएकोबारे निधिले भने, “हो, मैले उहाँलाई आग्रह गरेँ। उहाँको जुन भ्रमण स्थगित भएको थियो। त्यसलाई राजनीतिकभन्दा धार्मिक र सांस्कृतिक भ्रमण गर्न मैले आग्रह गरेँ। र, उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभयो।”

यसअघि मोदीले गर्ने भनिएको जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण रद्द भएको थियो।

मोदीको नेपाल भ्रमणको तिथि तय नभएपनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय राष्ट्रपतिले नेपालको भ्रमण गर्ने र त्यसपछि नेपालका राष्ट्रपतिले भारतको भ्रमण गर्ने तय भएको निधिले बताए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा रेलमार्ग र प्रसारण लाइनको क्षमता वृद्धि लगायत नेपालका विकासबारे पनि कुराकानी भएको मन्त्री निधिले जनाए।

प्रतिबद्ध

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका उपप्रधान तथा गृहमन्त्री निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार मोदीले भूकम्पपछिको पुनर्निर्माण प्रयासमा नेपाल सरकार र नेपाली जनतालाई सघाउनका निम्ति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका थिए।

विज्ञप्तिमा भनिएको छ, ‍“नेपाल र भारतका सरकारबीच मात्रै सम्बन्ध नभई दुई देशका जनताबीच पनि भएको भन्दै प्रधानमन्त्रीले परम्परादेखिको मित्रता र सम्बन्धलाई थप सुदृढ तुल्याउन भारत प्रतिबद्ध रहेको दोहोर्याए।”

भेटवार्तामा मोदीसँगै विदेश सचिव एस जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल र नेपालका लागि भारतीय राजदूत रञ्जीय राय थिए भने नेपालको तर्फबाट निधिसँग दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी भएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको विशेषदूतका रुपमा चीन भ्रमणबाट शनिबार स्वदेश फर्किएका अर्थमन्त्री कृष्णबहादुर महराले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने दिशामा आफ्नो भ्रमण फलदायी भएको बताएका छन्।