पदक जित्ने धोको

  • 22 अगस्ट 2016
आफ्ना पिताका साथ गौरिका
Image caption गौरिकाका पिता उनलाई पौडीको उत्कृष्ट खेलाडी बनाउन चाहन्छन्

यही अगष्ट महिनाको पहिलो साता आफ्ना पिता डा. पारस सिंहसंग ब्राजीलको रियो द जेनिरो शहर पुग्दा १३ वर्षीया गौरिकालाई सो शहर लण्डन भन्दा निकै फरक लाग्यो।

तर ओलिम्पिक ग्राममा उनी पुग्दा नपुग्दै आयोजक इन्टरन्याशनल ओलिम्पिक्स कमिटिले आफ्नो आधिकारिक वेबसाइटमा रियो ओलिम्पिक्समा संसारभरिबाट भेला भएका दशहजार भन्दा बढी खेलाडीहरुमध्ये नेपालकी गौरिका सबैभन्दा कान्छी खेलाडी भएको पुष्टि गरेपछि उनी आकर्षणको केन्द्र बन्न पुगिन्।

पौडीमै नाम चलेका खेलाडीहरुले उनलाई हौसला दिए भने बीबीसी वर्ल्ड लगायतका सन्चारमाध्यमहरुले उनको प्रत्यक्ष अन्तर्वार्ता गरे।

उनलाई चाहिं अगष्ट ७ तारिख, आइतबारका दिन हुन गैरहेको आफ्नो प्रदर्शनबारे नै बढी चिन्ता थियो।

प्रदर्शन

महिला तर्फको १०० मिटर ब्याकस्ट्रोक हिट १ मिनट ८.४५ सेकेण्डमा पुरा गरेर उनी समोआ र कोसोभोका खेलाडीहरुलाई उछिन्न सफल भइन्, तर दोश्रो चरणमा भने पुग्न सकिनन्।

प्रतियोगितामा भाग लिनु ठिक अघि पौडी पोशाकमा केही समस्या देखिएका कारण चिन्तित बनेकी उनको प्रदर्शन यस अघि उनले नेपालमा कायम गरेको राष्ट्रिय रेकर्ड भन्दा कम रह्यो।

रियोबाट फर्केपछि बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनले आफ्नो अपेक्षा अनुरुप रियोमा प्रदर्शन गर्न नसकेको बताइन्।

तर सन् २०२० मा टोक्योमा हुने ओलिम्पिककालागि आफुले अब तुरुन्तै तयारी थाल्ने उनको भनाइ थियो।

“सन २०२० वा त्यसपछि २०२४ मा पनि म ओलिम्पिककालागि छानिएँ भने अवश्य पनि नेपालका लागि पदक जित्ने प्रयास गर्नेछु,” गौरिकाले भनिन्।

मेहनत

जानकारहरु भन्छन्, ओलिम्पिकमा पदक जित्न खेलाडीहरुले कम्तीमा दशदेखि पन्ध्र वर्ष अथक मेहनत गर्नुपर्ने हुन्छ।

त्यो हिसाबले हेर्दा भर्खर १३ वर्षकी गौरिका एउटा भरपर्दो संभावनाका रुपमा नेपाली खेलकुद जगतमा उदाएकी छिन्।

सन् २०२० मा टोक्यो ओलिम्पिक्समा बेला उनी केवल १७ वर्षकी हुनेछिन् भने त्यसपछि सन् २०२४ मा आयोजना हुने ओलिम्पिक्समा २१ वर्षकी।

“यही गतिमा जाने हो भने उनले राम्रो गर्न सक्छिन्,” पौडीका राष्ट्रिय कोच वाङदेन लामाले भने।

तर उनले नेपालका लागि अहिले नै ओलिम्पिक्सभन्दा एसियाली र दक्षिण एसियाली खेलहरु प्राथमिकतामा रहेको बताए।

“उनको ट्यालेन्ट अनुसार उनले गर्न सक्छिन्। तर यो धेरै ठूलो चुनौती हो र उनले धेरै नै मेहनत गर्नुपर्ने हुन्छ,” लामाले भने।

सिक्ने मौका

तस्वीर कपीराइट Getty

हुन पनि आइतबार सकिएको रियो ओलिम्पिक्स गौरिकाकालागि एउटा आत्मविश्वास बढाउने र सिक्ने मौकाको रुपमा हेरिएको थियो।

काठमाण्डौमा जन्मिएको दुई वर्षमै आफ्ना बुवा, आमासंग ब्रिटेन आएकी उनले शुरुमा स्कटल्याण्डमा पौडी सिक्न थालिन्।

“मलाई मेरो बुवाले पौडी खेल्न वाध्य पार्नुभएको हो,” उनले हाँस्दै भनिन्।

पेशाले चिकित्सक आफ्ना बुवा लण्डन सरेपछि उनले पश्चिम लण्डनस्थित कोप्टहल स्वीमिङ क्लबमा नियमित प्रशिक्षण लिन थालिन्। खाली समयमा आफ्नो परिवार र साथीहरुसंग बिताउन रुचाउने गौरिकाकालागि पौडी खेल फगत शौख होइन, पौडी त उनको जिन्दगी नै हो, जसमा उनी रमाउन मात्रै होइन, केही गरी देखाइछाडने गहिरो अठोट छ।

सानै उमेरमा नेपालका राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएर सात वटा रेकर्ड राखीसकेकी गौरिकाकालागि यसै वर्ष भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली खेलकुद आफ्नो प्रतिभा देखाउने उपयुक्त अवसर बन्यो।

साग गेम्समा उनले नेपालका लागि चारवटा पदकहरु जितिन्।

ओलिम्पिक्समा नेपाल

सन् १९६४ मा पहिलो पटक ओलिम्पिक्समा भाग लिएको नेपालले अहिलेसम्म १३ पटक ओलिम्पिक्समा भाग लिइसकेको छ, तर एउटा पनि पदक जित्न सकेको छैन।

सन् १९८८ मा सोलमा भएको तेक्वान्दो प्रदर्शन खेलमा नेपाली खेलाडी विधान लामाले काँश्य पदक हात पारेका थिए।

त्यसयता नेपाली खेलाडीहरुले ओलिम्पिकमा सहभागी भएकै आधारमा चित्त बुझाउनु पर्ने अवस्था छ।

रियोबाट लण्डन फर्केर गौरिका अहिले बिदामा आफ्ना मावली हजुरबुवा, हजुरआमासंग नेपाल पुगेकी छन्।

‘शान्ति एजुकेशन इनिशियटिभ नेपाल’ नामक एउटा गैरसरकारी संस्था मार्फत कल्याणकारी काममा पनि संलग्न उनले आफुजस्तै किशोर, किशोरीहरुलाई पढाइसंगसंगै खेलकुदमा पनि भाग लिन आफुले प्रोत्साहित गर्न चाहेको बताइन्।

लण्डन फर्केपछि पढाइकासाथै आफ्नो पौडी अभ्यास निरन्तर राख्‍ने पनि उनले बताइन्।

अठोट

उनका पिता डा. पारस सिंहले पनि छोरीलाई उच्च शिक्षा हासिल गर्न आफुले अभिप्रेरित गरिरहेको बताए।

पौडीमा उत्कृष्ट खेलाडी बन्ने उनको अठोट पुरा गर्न आफुले सक्दो प्रयासगर्ने पनि उनले बताए।

“तर ओलिम्पिक्सको लक्ष्य राखेर तयारी गर्दा हामीलाई नेपाल सरकारको दरिलो सहयोग चाहिन्छ,” उनले भने।

राष्ट्रिय पौडी कोच लामा पनि यसमा सहमत छन्।

“मुख्य कुरा गौरिकामा भर पर्छ, उनका बुवा आमामा पनि। त्यस्तै नेपाल सरकारले पनि अहिले देखि नै उनलाई सहयोग गर्नुपर्छ,” लामाले भने।

विश्लेषकहरु भन्छन्, भारतजस्ता ठूला मुलुकहरुले समेत ओलिम्पिक्सलाई ध्यानमा राखेर खेलाडीहरुमाथि लगानी बढाएका बेला नेपालले आफ्ना युवा खेलाडीहरुलाई सक्दो राम्रो प्रशिक्षणको व्यवस्था मिलाउनु पर्छ।

अहिलेकै लागि भने ओलिम्पिक्समा पदक जित्ने दशकौं पुरानो नेपालको आकांक्षालाई मूर्तरुप दिन किशोरी गौरिकालाई अहिले देखि नै तयार गर्नुपर्ने धेरैको ठम्याइ छ।