के रियो ओलिम्पिक्स सफल रह्यो?

  • 22 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

पछिल्ला दुई वर्षमा दुईवटा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्रममा ब्रजिलले रियो ओलिम्पिक्स पनि निकै सफलतापूर्वक सम्पन्न गरेको छ।

विशुद्ध खेलकुदको दृष्टिकोणबाट हेर्दा रियो सन् २०१६ असाधारण रुपमा सफल ओलिम्पिक्स प्रतियोगिता बनेको छ।

मैदानमा भएका भिडन्त र ट्रयाक तथा जिममा भएका प्रस्तुति रियो ओलिम्पिक्समा उच्च कोटीका थिए।

झण्डै एक सय वटा विश्व र ओलिम्पिक कीर्तिमानहरु तोडिए र विगतसँग तुलना गर्दा प्रतियोगिता लागुपदार्थको प्रयोगबाट मुक्त देखिएको छ।

मेला

तस्वीर कपीराइट AFP

ब्रजिलले दुई वर्षको अन्तरालमा ठूलो खेलकुद मेला दोस्रोपटक आयोजना गर्न सकिने पनि देखाएको छ।

तर कति ब्रजिलका नागरिकले प्रतियोगिताबाट अपनत्व महसुस गरे भन्ने निचोडमा पुग्न अझै मुस्किल छ।

रियोको पुरानो तटीय क्षेत्रमा हुने खुला समारोह वा समर्थकहरु भेला हुने स्थान, ब्रजिलमा सबैभन्दा लोकप्रिय दुई खेल फुटबल र भलिबलका प्रतियोगिता ठूला पर्दामा हेर्न सप्ताहान्तमा कैयौँ हजार स्थानीय मानिसहरु भेला हुने गरेका थिए।

दुई वटा कारणले उक्त दृश्यलाई महत्वपूर्ण मानिन्छ।

पुनर्निर्माण गरिएका त्यस्ता क्षेत्रहरुलाई विगतमा एकदमै खतरनाक क्षेत्रका रुपमा लिने गरिन्थ्यो।

तर अहिले हेर्दा भ्रमण नै गर्न आयोग्य ठानिएका ती शहरहरुले पुरानो त्यस्तो टिप्पणीलाई गलत साबित गरिदिएका छन्।

तस्वीर कपीराइट epa

रियोका कैयौँ ओलिम्पिक स्थलहरुको वास्तविकता धेरै फरक पाइएको छ।

अधिकारीहरुले सबै टिकट विक्री भइसकेको बताएपनि कैयौँ रंगशालाहरु आधा खुला नै रहेका थिए।

टेनिस, एथलेटिक्स र बिच भलिबल जस्ता खेलका फाइनलमा हजारौँ सिट रित्ता थिए।

भलिबल खेलको फाइनल कोपाकाबाना समुन्द्री तटमा भएको थियो जुन रियोको दक्षिणी क्षेत्रमा पर्छ र पर्यटकमाझ समेत लोकप्रिय रहेको छ।

ओलिम्पिक अधिकारीहरुले प्रायोजकहरुले आफूलाई वितरण गरिएको सबै टिकट नबेच्दा सीटहरु रित्तो भएको बताउने गरेका छन्।

ब्रजिलका मानिसहरु आफू पहिल्यैदेखि नै आकर्षित नरहेका खेलहरु जस्तै हकी, रग्बी र ब्याडमिन्टनप्रति चासो नराख्ने भन्दै ती खेल हेर्नै गएनन्।

प्रश्न

तस्वीर कपीराइट AP

स्थानीय मानिसहरुले टिकटको मूल्य निक्कै धेरै राखिएको भन्दै आक्रोश पनि व्यक्त गरे।

कतिपय लोकप्रिय खेलका टिकटको मूल्य झण्डै दुई सय ८० डलर सम्म राखिएका थिए जुन रकम ब्रजिलको न्यूनतम मासिक आयभन्दा पनि बढी हो।

रियो ओलिम्पिक शुरुभन्दा अघि पर्यवेक्षकहरुले गुवानाबारा खाडीसम्म हुने नौका दौड प्रतियोगितास्थलको पानीको गुणस्तर, जिका भाइरस, कमजोर सार्वजनिक यातायतबारे प्रश्न उठाउने गरेका थिए।

तर खेल सकिँदासम्म त्यस्ता कुनै समस्या नदेखिएपनि सबै खुशी छैनन्।

नौका दौड प्रतियोगिता हुने स्थानमा तैरिएका वस्तु र फोहोर निगरानी गर्न हेलिकोप्टर र वातावरणमैत्री डुंगाहरु परिचालन गरिएपनि केही प्रतिस्पर्धीहरुले प्लास्टिकका झोला र अरु फोहोरहरु फेला परेका भन्दै असन्तुष्टि जनाएका थिए।

बेल्जियममा प्रशिक्षकले त आफ्नी एक खेलाडीलाई झाडापखाला चलेर उनी पदकविहीन बन्नुपरेको भन्दै चित्त दुखाए।

उक्त खाडीमा रहेको पानी फोहोर हुँदा उक्त समस्या आएको उनको दाबी छ।

बन्दोबस्ती

तस्वीर कपीराइट Reuters

हिंसाका कारण एकदमै बदनामी कमाएको रियो शहरलाई शान्त राखिरहन झण्डै ८५ हजार फौज परिचालन गरिएका थिए।

कम्तीमा खेल भइरहेका स्थान र पर्यटकीय क्षेत्रमा सुव्यवस्था कायम राख्न उनीहरु सफल भएका थिए।

गोप्यरुपमा ओलिम्पिकका हाकिमहरु बेलाबेला चुकेपनि धेरै कुरा अन्तिमसम्म तयार नभएको र चारवटा खेलकुदस्थलका आफ्नै व्यवस्थापकीय चुनौतीहरु रहेको उनीहरुले बताउने गर्छन्।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिका सञ्चार निर्देशक मार्क एडम्स भन्छन, ओलिम्पिक रियोमा आयोजना गरेर पछुताउनुपर्ने कुनै कारण छैन।

उनी भन्छन्, “मानिसहरुले के बुझ्नुपर्छ भने हामी एकदमै गम्भीर राजनीतिक र आर्थिक संकट भोगिरहेको देशमा छौँ र यहाँ भएकोमा सन्तुष्ट पनि छौँ।”

उनी थप्छन्, “यदि यी मूल्य मान्यताहरु विस्तार गर्ने लक्ष्य ओलिम्पिकले राखेको हो भने त्यसले दक्षिण अमेरिकामा काम गर्यो, अब त्यस्तै अफ्रिकामा किन नगर्ने?”

पछिल्ला दुई हप्तामा ब्रजिलका मानिसहरुले देशका धेरै गम्भीर समस्याहरु बिर्सिएका छन् जसमध्ये एउटा प्रमुख आगामी प्यारालिम्पिक खेलका लागि आर्थिक स्रोत जुटाउने पनि एक हो।

उनीहरु आफ्ना नौका दौड, एथलेटिक्स र जुडोका पदक विजेता खेलाडीको सफलतामा रमाइरहेका छन् तर यस्तै अर्को ठूलो कुम्भ आयोजना गर्न ब्रजिलले अझै केही समय दाबी नगर्ने मनोभाव पाइन्छ।