प्यारालिम्पिकमा रुसमाथिको प्रतिबन्ध सदर

  • 23 अगस्ट 2016
तस्वीर कपीराइट AP

रुसले सरकारी प्रायोजनमा खेलाडीहरुलाई प्रतिबन्धित औषधी दिएको भनिएको एउटा प्रतिवेदनका आधारमा खेलकुदका मुद्दामा मध्यस्थता गर्ने अदालतले प्यारालिम्पिक खेलमा रुसी खेलाडीमाथिको प्रतिबन्ध सदर गरेको छ।

सरकारी प्रायोजनमा खेलाडीहरुलाई प्रतिबन्धित औषधी दिएको आरोपमा रुसी खेलाडीहरु प्रतिबन्धित भएका थिए।

रुसले उक्त प्रतिबन्ध विरुद्धको अपील हारेको छ।

खेलकुदका मुद्दामा मध्यस्थता गर्ने अदालतले अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिको निर्णय सदर गरेको हो।

प्रतिबन्ध

रुसमा सरकारी प्रायोजनमा प्रतिबन्धित औषधी दिइन्छ भनिएको एउटा प्रतिवेदनको आधारमा अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले त्यस्तो निर्णय गरेको हो।

प्यारालिम्पिक्स प्रतिस्पर्द्धा ब्रजीलको रियोमा आगामी सेप्टेम्बर महिनाको ७ तारिखमा शुरु हुँदैछ।

खेलकुदका मुद्दामा मध्यस्थता गर्ने अदालतले उक्त निर्णय परिस्थिति अनुरुप सही भएको बताएको भन्दै अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले पेश गरेका तथ्यलाई खण्डन गर्ने कुनै प्रमाण नभेटेको बताएको छ।

अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिको निर्णय अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीको निर्णय विपरीत छ।

ओलिम्पिक कमिटीले सबै रुसी खेलाडीलाई एकनास रुपमा प्रतिबन्ध नलगाउने निर्णय गरेकोमा प्रतिबन्धित औषधी विरुद्धको विश्व निकायको प्रतिवेदन बेवास्ता गरेको भन्दै उक्त कमिटीको बृहत्तर आलोचना भएको थियो।

ओलिम्पिक खेलमा रुसी खेलाडीलाई खेल्न दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार हरेक खेलको नियामक निकायलाई दिइएको थियो।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीको ३ सदस्यीय समितिले अन्तिम निर्णय लिने गर्दछ।

२७० जना रुसी खेलाडीहरुलाई ओलिम्पिक खेलमा भाग लिने अनुमति दिइएको थियो र रुसले ५६ वटा पदक जित्दै धेरै पदक जित्ने देश मध्ये चौथो बनेको थियो।

नखेल्ने निश्चित

प्यारालिम्पिक्सका १८ खेलमा २६७ रुसी खेलाडीहरु खेल्न तयार थिए।

खेलकुदका मुद्दामा मध्यस्थता गर्ने अदालतले निर्णय गर्दा प्रत्येक रुसी खेलाडीको व्यक्तिगत अधिकार र प्राकृतिक न्यायको अधिकारका बारेमा विचार नगरेको बताएको थियो।

रुसको प्यारालिम्पिक टोलीका वकील अलेक्सेई कार्पेंकोले उक्त निर्णय अन्तिम भएको पुष्टि गर्दै त्यसका विरुद्ध स्वीट्जर्ल्याण्डको संघीय सर्वोच्च अदालतमा अपील गर्ने प्रयास गर्ने बताएका छन्।

तर उक्त अदालतले मुद्दाको सुनुवाइ गर्न एक देखि दुई वर्ष लाग्ने हुनाले रुसी खेलाडीले यो वर्षको प्यारालिम्पिक्समा भने कुनै हालतमा खेल्न नपाउने उनले बताए।

रुसबाट विरोध

अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिका अध्यक्ष फिलिप क्र्याभेनले रुसको प्रतिबन्धित औषधी विरुद्धको प्रणालीलाई भ्रष्ट भन्दै उक्त निर्णयबाट आफु अत्यन्त उत्साहित भएको बताए।

त्यो निर्णयले रुसमा परिवर्तन ल्याउन मद्दत गर्ने अपेक्षा राखेको भन्दै उनले रुसलाई भविष्यमा उक्त प्रतिस्पर्द्धामा स्वागत गर्ने आशा व्यक्त गरे।

रुसी खेलकुद मन्त्री भिटली मुट्कोले उक्त प्रतिबन्धलाई राजनीतिक र गैर कानुनी भनेका छन् भने वकील कार्पेंकोले त्यसलाई खेलकुदको न्यायप्रणालीमा कालो दिन भनेका छन्।

रुसका प्यारालिम्पिक खेलाडीको अधिकारको हनन भएको र उनीहरुलाई आफ्नो बचाउ गर्न नदिइएको उनको भनाइ छ।