टर्कीद्वारा आइएस अखडाहरुमा हमला

  • 23 अगस्ट 2016
gaziantep तस्वीर कपीराइट AP
Image caption गत सप्ताहान्त गाजियन्टेपमा एउटा विवाहमा भएको आत्माघाती हमलामा कम्तीमा ५० जनाको ज्यान गएको थियो

टर्कीले उत्तरी सिरियास्थित आइएस निशानाहरुमा गोलाबारी गरेको छ।

जराब्लुस शहरबाट आइएस लडाकुलाई धपाउन गरिएको भनिएको उक्त बमबारीपछि थप आक्रमणका लागि, टर्कीस समर्थन प्राप्त सिरियाली लडाकुहरु सीमावारि टर्कीमा कुरेर बसिरहेको बताइएको छ।

सीमावर्ती शहर गाजियन्टेपमा १५ सय जति सिरियाली लडाकुहरु तयारी अवस्थामा रहेको ठानिएको छ।

त्यसअघि टर्कीभित्रबाट सिरियाको जराब्लुस र मनबिजस्थित आइएस अखडाहरु र कुर्दिस वाइपीजी मिलियाका निशानाहरुमाथि गोलाबारी गरिएको थियो।

प्रत्याक्रमण

टर्कीमा ५० जनाभन्दा बढीको ज्यान जाने गरी एउटा विवाह समारोहमा भएको आत्माघाती आक्रमणपछि पछिल्ला हमलाहरु भएको जस्तो देखिन्छ।

क्त आत्माघाती आक्रमणमा आइएस संलग्न रहेको ठानिएको छ।

टर्कीमा पछिल्लोपटक बम आक्रमणका श्रृखंलावद्ध घटनाहरु भएका छन् र टर्की जति सिरियाली युद्धमा फस्दै जान्छ त्यतिनै त्यस्ता हमला तीव्र हुन सक्ने चिन्ताहरु व्यक्त भएका छन्।

सिरियाली सीमावर्ती क्षेत्रमा सिरियाली कुर्दिस वाइपीजीसहितको गठवन्धनले आइएसलाई धपाउन काम पनि गरिरहेका छन्।

तर पछिल्लो हमलामा वाइपीजीका निशानाहरु पनि परेका छन्। टर्कीले वाइपीजीलाई कुर्दिस वर्कर्स पार्टी (पीकेके)को अंशको रुपमा हेर्छ।

टर्कीभित्रै स्वायत्ताका लागि टर्कीस कुर्दिस विद्रोही समूह पीकेके सन् १९८० को दशकयता लड्दै आएको छ।