‘मन्त्रिपरिषद् विस्तार बिहीबार’

  • 24 अगस्ट 2016
तस्वीर कपीराइट .

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीको संख्या बढी मागेकाले बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको उक्त दलको संस्थापन पक्षका एकजना नेताले बताएका छन्।

सभापति शेरबहादुर देउवा बिहीबार जसरी पनि थप मन्त्रीको सपथ गराउने पक्षमा रहेको उनी निकट नेताको भनाई छ।

तर पौडेल पक्षले सम्मानजनक व्यवहार नभएको भन्दै समग्र विषयमा थप कुराकानीको खाँचो औंल्याएपछि सभापति देउवा निवासमा दुवै पक्षबीच बुधबार साँझसम्म छलफल जारी थियो।

सभापति देउवानिकट नेता प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने मनस्थिति देउवाले बताइसकेका थिए।

विस्तार

तर कांग्रेस वरिष्ठ नेता पौडेल पक्षले आफ्नो पक्षको नाम नदिएपछि बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेन्।

कारणबारे नेता महतले भने, “खासगरी पौडेलजी लगायतका अन्य नेताहरुको जुन चाहिँ सिफारिस छ। संख्याको माग बढी हुनाले अलिकति समस्या आएको छ। नेताहरुको बीचमा छलफल भइरहेकको छ। त्यो छलफल आजै टुंग्याएर भोलि जसरी नि सपथ गर्ने। अब ढिला भइसकेको छ भन्ने कुरा भइरहेको छ।”

सभापति देउवाले मन्त्री बनाउनेको नाम मागेपछि पौडेलले आफ्नो पक्षका नेताहरुसँग परामर्श गरेका थिए।

तर उनी पक्षीय बैठकले तत्काल नाम नपठाउने निधो गर्यो।

कारणबारे उक्त भेलामा सहभागी नेता नारायण खड्काले भने, “एउटा संख्या तलमाथिले सम्मानजनक ढंगले भन्दा पनि मूलतः सम्रगतामा सम्मानजक हुनुपर्यो भन्ने कुरा हो। सभापति शेरबहादुर देउवा र हाम्रा वरिष्ठ नेता पौडेलबीच अलि गहन छलफल नभइरहेको अवस्थामा फेरि बसेर यसमा छलफल गर्नुपर्छ। केही गहन छलफल आवश्यक सम्झेर पनि अलि ढिला भएको हो।”

बाँडफाँड

सरकार गठनदेखि माओवादीसँगको शक्ति बाँडफाँड लगायतका विषयमा छलफल नगरेको पौडैल पक्षको आरोप छ।

ती सबै असन्तुष्टि यही बेला देउवामाथि पोख्ने रणनीतिमा पौडेल पक्ष देखिन्छ।

पौडेल पक्ष बिहीबारसम्म पनि सन्तुष्ट हुन नसकेमा केही मन्त्री बाँकी राखेरै पनि देउवा आफ्नो पक्षका मन्त्री थप्लान?

नेता प्रकाशशरण महतले भने, “होइन होइन। सभापति आफैंले भन्या जस्तो नि हुँदैन र अरु नेताहरुले भने जस्तै सबै हुने स्थिति रहंदैन।”

माओवादीले आफ्नो पक्षका मन्त्रीहरु नियुक्त गरिसकेको छ।

तर तीन साता भइसक्दा पनि सरकारले कांग्रेसकै कारण पूर्णता पाउन सकेको छैन।