म्यान्मारमा भूकम्प, कयौं भवनमा क्षति

  • 24 अगस्ट 2016
भूकम्पपछि कोलकाता तस्वीर कपीराइट .
Image caption भारतको गुहावाटी, कोलकाता र राँचीमा समेत म्यान्मारमा गएको भूमम्पको धक्का महसुस गरिएको थियो।

मध्य म्यानमारको ६.८ म्याग्नीच्युडको गएको भूकम्पमा परि कम्तीमा तीन जनाको ज्यान गएको समाचार प्राप्त भएको छ।

पाकोक्र्कु नगरमा एक भवन भत्किदा एक जनाको ज्यान गएको र अर्को स्थानमा दुई जनाको ज्यान गएको समाचार प्राप्त भएको छ।

बगन नगरको पुरातत्व विभागका एक प्रवक्ताका अनुसार भूकम्पका कारण बगन नगरमा ६० भन्दा बढी बौद्ध चैत्यहरुमा क्षति पुगेको छ।

भूकम्पका कारण म्यानमारको राजधानी न्यापीडमा पनि संसद भवनमा क्षति पुगेको विवरण प्राप्त भएको छ।

सो भूकम्पको झट्का छिमेकी थाइल्याण्ड, बांग्लादेश र भारतमा समेत महसुस गरिएका विवरणहरु प्राप्त भएका छन्।

कम्पन

भूकम्पको केन्द्रबिन्दु चौकदेखि २५ किलोमिटर पश्चिममा करिव ८४ किलोमिटर गहिराईमा रहेको युएस जियोलिजीकल सर्भेले जनाएको छ।

भूकम्पका बेला म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन र थाइल्याण्डको राजधानी ब्याङकका भवनहरु समेत हल्लिएका थिए।

सो भूकम्पको धक्का बांग्लादेश र भारतका गुवाहाटी, राँची र पट्नामा समेत महसुस गरिएको थियो।

भूकम्पपछि भारतको कोलकातामा भूमिगत रेल सेवा केहिबेर स्थगित गरिएको थियो।

बांग्लादेशको ढाकामा भूकम्पका बेला भाग्ने क्रममा करिव २० जना घाइते भएको समाचारहरुमा जनाइएको छ।