सीमाभन्दा बढी उपचारखर्च

  • 25 अगस्ट 2016
oli तस्वीर कपीराइट Reuters
Image caption पूर्व प्रधानमन्त्री केपी ओली उपचारका लागि भन्दै बिहीबार थाइल्याण्ड गएका छन्

पूर्व विशिष्ट पदाधिकारीहरुका लागि राज्यको ढुकुटीबाट उपचारखर्चवापत निश्चित रकम दिने भन्ने सीमा तोकिएपनि त्योभन्दा बढी निकासा भइरहेको जानकार अधिकारीहरुले बताएका छन्।

त्यस्तो सहायतासम्बन्धी सीमा, नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी निर्देशिका २०६६ मा राखिएको छ, तर आवश्यकता अनुसार मन्त्रिपरिषद्ले खर्च थपिदिन सक्ने भन्ने व्यवस्थामा टेकेर सरकारले बढी रकम दिने गरेको देखिन्छ।

चासो

केही पूर्व विशिष्ट पदाधिकारी स्वास्थ्यउपचारका लागि हालसालै विदेश गएको र केही जाने तयारीमा रहेका बेला राज्यबाट उनीहरुले लिने उपचारखर्चबारे फेरि चासोहरु देखिएका छन्।

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी निर्देशिका २०६६ ले पूर्व राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि १५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ।

यसैगरी पूर्वसभामुख र प्रधानन्यायाधीशको हकमा त्यो सीमा १० लाखको छ।

तस्वीर कपीराइट .
Image caption कांग्रेस सभापति शेरबहादुर देउवा पनि शुक्रबार उपचारका लागि भन्दै सिंगापुर जाने विवरण आएका छन्

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई पांच लाखसम्म दिन सकिने उल्लेख छ।

तर आवश्यक परे निर्धारित सीमाभन्दा थप खर्च मन्त्रिपरिषद्ले दिने सक्ने खुकुलो प्रावधानमा टेकेर राज्यको ढुकुटीबाट पूर्व विशिष्टहरुले ठूलो रकम लिइरहेको देखिन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तबहादुर श्रेष्ठले भने, “उपचारखर्चको विवरण अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयमा पठाउने गरेकाले कूल रकम कति निकासा भयो भन्ने तथ्यांक त हामीसंग छैन, तर एक करोड रुपैयांसम्म मन्त्रिपरिषद्ले उपचार खर्च दिएको जानकारी छ”।

दोहन

यसरी रकम लिने पूर्व विशिष्ट पदाधिकारीहरुमध्ये प्राय: सबैले नै विदेशमा उपचार गरेको पाइन्छ।

तस्वीर कपीराइट AFP
Image caption पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा उपचारका लागि भन्दै उनको सचिवालयले १ करोड रुपैयांभन्दा बढी खर्च सरकारसंग मागेको विवरण सञ्चारमाध्यममा आएका छन्

अधिकांश अवस्थामा देशभित्रै उपचार सम्भव भएपनि पूर्व विशिष्टहरु विदेश जाने गरेको भन्दै त्यसलाई कतिपयले राज्यको ढुकुटीको दोहनका रुपमा चित्रण गरेका छन्।

त्यस्तैमध्येका एक डाक्टर सुन्दरमणि दीक्षित विगतमा विशिष्ट व्यक्तिहरुले जटिल अवस्थामा पनि देशभित्रै उपचार गरेको उदाहरण दिन्छन्।

उनले भने, “राजा महेन्द्रले टीकापुरबाट गोली लागेकी रानीलाई दिल्ली नलगी काठमाण्डू ल्याएर उपचार गराए। वीर अस्पतालमै मुटु उपचारको निगरानी गर्ने इकाई स्थापना गर्न लगाए।दिपेन्द्रको जटिल शल्यक्रिया पनि यही गरियो। तर अहिले सामान्य उपचारका लागि पनि विदेश जाने नेताहरुको प्रवृत्तिले के दर्शाउंछ?”।

पूर्व तथा बहालवाला विशिष्टहरु उपचारकै लागि भनेर विदेश जाने क्रम तीव्र भएपछि गत वर्षमात्रै वीर अस्पतालको अतिविशिष्ट उपचार कक्षलाई पुनर्निर्माण गरेर सुविधासम्पन्न बनाइएको थियो।

त्यसअघि पनि कमै विशिष्ट पुग्ने अस्पतालमा पुनर्निर्माणपछि पनि एक जना विशिष्ट समेत उपचारका लागि त्यहाँ नगएको उक्त अस्पतालका निमित्त निर्देशक भूपेन्द्र बस्नेतले बताए।