त्रिशुलीमा बस खस्दा २० को मृत्यु

  • 26 अगस्ट 2016
तस्वीर कपीराइट Ishwor Joshi
Image caption नेपालमा वर्षेनी दुई हजार भन्दा बढीको ज्यान सडक दुर्घटनाका कारण जाने गरेको बताइन्छ

रौतहटको गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा अहिलेसम्म २० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी उपरिक्षकका अनुसार १७ जना घाईतेलाई उपचारका लागि भरतपुर अस्पतालतर्फ पुर्याइएको छ।

मुग्लिन नारायणगढ सडक खण्डको चण्डी भञ्ज्याङ स्थित काली खोला भन्ने ठाउँमा ना १ ख ३७०९ नम्बरको बस बिहान पौने चार बजेतिर खसेको बताइएको छ।

त्यसमा परेका मध्ये २० जनाको शव भेटिएको प्रहरीले बताएको छ।

खोजिकार्य जारी

उद्वार कार्य जारी रहेको प्रहरी उपरिक्षक बसन्त कुँवरले बताए।

घटनास्थलमा रहेका कुँवरले भने, "हामी विहान सवा ५ बजेदेखि उद्वारकार्यमा खटिएका छौं। बसमा कति यात्रु थिए अहिलेसम्म यकिन भइसकेको छैन।"

बस त्रिशुली नदीमा खसेकाले उद्वारका लागि समस्या भइरहे पनि विहान सवा पाँचदेखि आफूहरु खटिएको प्रहरी उपरिक्षक कुँवरले बताए।

उनका अनुसार अहिलेसम्म चालकको पनि पत्ता लागेको छैन।

केही अघिमात्रै काभ्रेको कात्तिके देउराली जाँदै गरेको अर्को यात्रुबाहक बस दुर्घटना हुँदा दुइदर्जन भन्दा बढी मानिसको ज्यान गएको थियो।

सडक सुरक्षाबारे चिन्ता बढी रहँदा पछिल्लो घटना भएको छ।