इटलीको भूकम्प प्रभावित क्षेत्रमा संकटकाल

  • 26 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

इटलीका प्रधानमन्त्रीले बुधबार राति मध्य इटलीको पहाडी क्षेत्रमा गएको भूकम्पले क्षति पुर्याएका क्षेत्रहरुमा संकटकालको घोषणा गरेका छन्।

उक्त विनाशकारी भूकम्पमा परि कम्तीमा २ सय ५० जनाको ज्यान गएको थियो।

इटलीमा बुधबार गएको भूकम्पपछिका सयौं परकम्पहरुले खोजीकार्यलाई असर गरिरहेको बताइएको छ।

असर

माटेओ रेन्सीले भूकम्प प्रभावित क्षेत्रमा प्रारम्भिक रुपमा निकाशा गरिएको ५ करोड युरोमा थप सहायता रकम र स्रोतहरु पठाइने बाचा गरेका छन्।

त्यहाँका संस्कृति मन्त्री डारियो फ्रान्चेस्किनीले पूरात्ताविक क्षेत्र र सरकारी संग्रहालयमा आउँदो आइतबार टिकट विक्रीवितरण सहित उठ्ने सबै रकम भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि दिइने बताएका छन्।

करिब ५ हजार उद्वारकर्मीले भारी उपकरणको प्रयोग गरेर वा खाली हातले भत्किएका संरचनाहरुभित्रबाट जीवितहरुको खोजी गरिरहेका छन्।

बुधबार मध्ये इटलीको पहाडी क्षेत्रमा पर्ने राजधानी रोमबाट १ सय किलोमिटर उत्तरपूर्वी क्षेत्रमा ६.२ म्यागनिट्युडको भूकम्प गएको थियो।

खोजि

३ सय भन्दा बढी मानिसहरुको अस्पतालमा उपचार भइरहेको छ र दर्जनौं मानिसहरु अझै भग्नावशेषभित्र फसिरहेको ठानिएको छ।

विनाशकारी भूकम्पले मध्ये इटलीको एमाट्रीस, आरक्वाटा, आकुमोली र पेस्कारा डे ट्रोन्टोलाई नराम्रोसँग प्रभावित पारेको छ।

यी नगरहरुको जनसंख्या पातलो छ तर गर्मी महिनामा जाने पर्यटकहरुको संख्या बढी थियो, जसले गर्दा हराइरहेका मानिसहरुको यकिन गर्न कठिनाइ भएको छ।