ब्रजिलमा राष्ट्रपतिद्वारा आरोपहरु अस्वीकार

  • 29 अगस्ट 2016
तस्वीर कपीराइट AFP

ब्रजिलकी निलम्बित राष्ट्रपति जिल्मा रुसेफले महाभियोगको मुद्दा सुनुवाइका क्रममा संसदको माथिल्लो सदन सिनेटमा आफ्नो बचाउ गर्दै सांसदहरुलाई प्रजातन्त्रको पक्षमा मत दिन आग्रह गरेकी छिन्।

रुसेफमाथि बजेटको बढ्दो घाटा लुकाउनका लागि बजेट हिनामिना गरेको आरोप लागेको छ।

रुसेफले आफ्नो आत्मा शुद्ध भएको भन्दै आफुले कुनै अपराध नगरेको बताइन्।

उनले आफुलाई पदच्युत गर्नु भनेको प्रजातान्त्रिक शैलीको मृत्युदण्ड सरह हुने पनि जिकिर गरिन्।

झण्डै साढे ५ करोड मतदाताले आफूलाई राष्ट्रपति पदमा पुनर्निर्वाचित गरेको सम्झाउँदै रुसेफले आफ्नो बयान शुरु गरेकी थिइन्।

'कू सरह'

आफुले सधैं देशको संविधानको सम्मान र पालना गरेको उनले बताइन्।

विगतमा आफुले सैनिक शासनको विरोधमा यातना समेत सहेको स्मरण गर्दै उनले आफुले नगरेको अपराधका लागि आफुमाथि आरोप लगाइएको बताइन्।

रुसेफले आफुमाथि लागेका आरोप अस्वीकार गर्दै महाभियोग कू सरह भएको बताएकी छिन्।

ब्रसिलियास्थित सिनेट भवनमा रुसेफ बिहान ९ बजे पुगेकी थिइन्।

समर्थकहरु

उनका साथी र सल्लाहकार भूतपूर्व राष्ट्रपति लुई इनासियो लुला द सिल्भा उनीसंगै थिए।

मुस्कुराउँदै सिनेट भवन छिर्नु अघि उनले आफ्ना समर्थकहरुलाई अभिवादन गरेकी थिइन्।

करीब २०० जनाको समूह उक्त भवन अगाडि जम्मा भएर उनलाई फिर्ता बोलाउन माग गर्दै नारा लगाइरहेका थिए।

रुसेफले यस अघि महाभियोग प्रस्तावलाई १३ वर्ष देखि सत्तामा रहेको उनको वामपन्थी दल वर्कर्स पार्टीलाई अपदस्थ गर्नका निम्ति गरिएको षडयन्त्र भनेकी थिइन्।

मतदान चाँडै

तस्वीर कपीराइट AP

बजेटको घाटा परिपूर्ति गर्नका लागि राष्ट्रिय ब्यांकको पैसा प्रयोग गर्नु भने महाभियोग लगाउनुपर्ने किसिमको अपराध नभएको र आफुभन्दा अघिका राष्ट्रपतिहरुले पनि त्यसो गरेको उनको तर्क छ।

आफ्नो बचाउ गरेपछि उनलाई सिनेटका सदस्यहरुले प्रश्न सोध्नेछन्।

उनलाई पदबाट हटाउने वा पुनर्स्थापित गर्ने भन्ने विषयमा मंगलबार मतदान हुने भनिएको छ, तर बुधबारसम्म सर्नसक्ने विश्लेषकहरु बताउँछन्।

उनलाई राष्ट्रपति पदबाट हटाउनका निम्ति सिनेटका ८१ मध्ये ५४ सदस्यले महाभियोगका पक्षमा मत दिनुपर्ने हुन्छ।

भाविष्य

ब्रजिलको दैनिक पत्रिका फोल्हा डे साँ पलोले सिनेटका सबै सदस्यसंग कुरा गरिसकेको भन्दै ५२ जना महाभियोगका पक्षमा भएको बताएको छ।

१८ जनाले महाभियोगको विरोध गरेको र ११ जनाले आफ्नो विचार नखुलाएको उक्त पत्रिकाको भनाइ छ।

६८ वर्षीय रुसेफमाथिको महाभियोग सफल भएमा कार्यकारी राष्ट्रपति मिशेल तेमेरले बाँकी कार्यकाल पुरा गर्नेछन्।

रुसेफको कार्यकाल सन् २०१८ को डिसेम्बर महिनामा सकिनेछ।

गत मे महिना रुसेफ निलम्बित भएपछि तत्कालीन उपराष्ट्रपति तेमेर कार्यकारी राष्ट्रपति बनेका थिए।

आईतबार रुसेफका केही समर्थकहरुले उनीमाथि लागेको महाभियोग विरुद्ध राजधानी ब्रसिलियामा प्रदर्शन गर्दै तेमेरलाई हटाउनुपर्ने माग गरेका थिए।

तर विगत केही महिनामा रुसेफका विरुद्ध र भ्रष्टाचारका विरुद्ध पनि ठूला प्रदर्शनहरु भएका छन्।