रुसेफ विरुद्ध महाभियोग प्रस्ताव पारित

  • 31 अगस्ट 2016
तस्वीर कपीराइट AP

ब्रजीलको संसदको माथिल्लो सदन सिनेटले राष्ट्रपति जिल्मा रुसेफ विरुद्धको महाभियोग प्रस्ताव बहुमतले पारित गरेको छ।

सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए।

सिनेटका ८१ मध्ये ६१ जना सिनेटरहरुले महाभियोगका पक्षमा मतदान गरेका थिए।

आरोप

यसअघि मुख्य अभियोजनकर्ताले देशलाई, उनकै शब्दमा, रुसेफ सरकारको भ्रष्टाचार र कुशासन पुगिसकेको बताए।

अभियोजनकर्ताका तर्फबाट मुद्दाको समापन गर्दै मिगेल रिआलेले माथिल्लो सदन सिनेटका सदस्यहरुलाई रुसेफलाई बर्खास्त गर्न आह्वान गरे।

रुसेफमाथि गैर कानुनी रुपमा बजेट हिनामिना गरेको आरोप लगाइएको थियो।

तर रुसेफले देशका सम्भ्रान्त राजनीतिक वर्गलाई चुनौती दिएको हुनाले उनीमाथि अभियोग लगाइको उनका वकीलले बताए।

भावुक हुँदै झुझै एड्वार्डु कार्डोजुले उनीमाथि महाभियोग लाग्नु भनेको एउटा सच्चा राजनीतिज्ञको लागि राजनीतिक मृत्युदण्ड दिइनु सरह भएको जिकिर गरे।

बचाउ

रुसेफले सन् २०१४ मा चुनाव जित्ने बित्तिकै महाभियोगको प्रक्रिया थालिएको उनले दावी गरे।

राष्ट्रिय तेल कम्पनी पेट्रोब्रासमा भएको ठूलो भ्रष्टाचार प्रकरण माथिको अनुसन्धानलाई रुसेफले रोक्न नमानेको उनले सम्झाए।

सत्तारुढ वर्कर्स पार्टीका धेरै राजनीतिज्ञहरु उक्त प्रकरणमा मुछिएका थिए।

अभियोजनकर्ता रिआलेले भने सन् २००३ मा सत्तामा आएको वर्कर्स पार्टीले राष्ट्रिय कम्पनीहरुको पैसा राजनीतिक अभियानहरुमा खर्च गर्ने भ्रष्टाचारी काम गर्न थालेको दावी गरेका थिए।

देशलाई त्यो नचाहिने भन्दै उनले महाभियोग प्रक्रियाले विश्वका सामु प्रजातन्त्र चिनाएको बताए।

रुसेफले मंगलबार सिनेटमा १८ घण्टा लामो सत्रमा आफ्नो बचाउ गरेकी थिइन्।

आफु सन् २०१४ मा चुनावमा हारेका मानिसहरुको षडयन्त्रको शिकार भएको उनको भनाइ थियो।