भेनेजुएलामा विपक्षीको विशाल प्रदर्शन

  • 2 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले आफ्नो सरकारले राजधानी कराकासमा विपक्षीले हत्या र हिंसा भड्काउन गरेको प्रयासलाई विफल पारिदिएको बताएका छन्।

बिहीबार विपक्षी पार्टीका लाखौं समर्थकले कराकासमा जुलुस निकालेर प्रदर्शन गरेपछि राष्ट्रपति मडुरोले यस्तो बताएका हुन्।

राष्ट्रपति मडुरोलाई पदबाट हटाइनुपर्ने भन्दै भएको पछिल्लो प्रदर्शन २ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताइएको छ।

प्रदर्शनकारीले देशले झेलिरहेको गहिरो आर्थिक संकटको दोष राष्ट्रपतिलाई लगाउँदै आएका छन्।

विरोध

विपक्षीले सत्ता हत्याउन प्रयास गरेको आरोप लगाउँदै राष्ट्रपति मडुरोले भने, "सत्तापलट गरि भेनेजुएला र कराकासलाई हिंसा र मृत्युको दलदलमा पुर्याउने प्रयासलाई हामीले पराजित गरेका छौं।"

भेनेजुएलाको राजधानी कराकासका सडकमा विपक्षीको प्रदर्शनमा लाखौं मानिस जुलुशमा सहभागी भएका छन्।

विपक्षी पार्टीका समर्थकले, देशको गम्भीर आर्थिक संकटको दोष राष्ट्रपति निकोलास मडुरोलाई लगाउँदै उनी पदबाट हट्नुपर्ने माग गरिरहेका छन्।

उनीहरुले राष्ट्रपति मडुरोको कार्यकाल छोट्याउनका लागि यही वर्षको अन्त्यसम्म जनमतसंग्रह होस् भन्ने चाहिरहेका छन्।

दबाब

बिहीबार भएको प्रदर्शन पनि निर्वाचन आयोगलाई जनमतसंग्रहको प्रक्रियालाई अघि बढाउन दबाब दिनका लागि आयोजना गरिएको थियो।

तर निकोलास मडुरोले उनलाई सत्ताबाट हटाउन कठिन हुने संकेत गर्दै आएका छन्।

१७ वर्षदेखि सत्ता चलाइरहेको, राष्ट्रपति मडुरोको सोसलिष्ट पार्टीका समर्थक पनि ठूलो संख्यामा उपस्थित भएर प्रदर्शनहरु गरिरहेका छन्।

उनीहरुले मडुरो र उनको बामपन्थी नीतिको समर्थनका लागि आफूहरु प्रदर्शनमा उत्रिएको बताएका छन्।

कराकासमा प्रदर्शन सुरु हुनुभन्दा अघि विपक्षी पार्टीका धेरै नेताहरुलाई हिरासतमा राखिएको थियो।