'चिनियाँ सामानको मूल्य बढ्नसक्ने'

  • 3 सेप्टेम्बर 2016
तस्वीर कपीराइट niranjan poudel
Image caption अघिल्लो वर्षबाट केरुङ नाकाबाट सामान आयातले तीव्रता पाएको छ

दशैँअघि तातोपानी नाका नखुल्ने भएकाले केरुङ हुँदै चीनबाट भित्र्याइने सामानको बजारमूल्य बढ्न सक्ने व्यवसायीले बताएका छन्।

तर सरकारी अधिकारी चाँहि तातोपानी नाका सञ्चालमा नआएकै कारण बजार मूल्यमा फरक नपर्ने बताउँछन्।

चीन र नेपालबीच व्यापार र आवागमनका लागि प्रमुख नाकाको रुपमा रहेको तातोपानी नाका गत वर्षको भूकम्पका कारण बन्द भएको थियो।

भन्सार कार्यालय स्थापना गरी हालै सञ्चालनमा ल्याइएको केरुङ नाकामा प्रशासनिक झन्झटको साथै सडकको अवस्था नाजुक रहेकाले सामान ल्याउँदा लागत बढ्ने गरेको व्यवसायीको भनाई छ।

जोखिम

Image caption भूकम्पले क्षति पुर्याएपछि तातोपानी नाका बन्द रहेको छ

भूकम्पका कारण भत्किएका सडक पुनर्निर्माण भएपनि सिन्धुपाल्चोकको तातोपानी क्षेत्र भूकम्पीय जोखिममा रहेको निस्कर्ष चिनियाँ पक्षले निकालेको थियो।

नेपालका तर्फबाट उक्त नाकालाई पुनः सञ्चालन गर्न धेरैपटक पहल भएपनि हालसम्म चिनियाँ पक्षले चासो नदेखाएको विवरण आएका छन्।

तातोपानी नखुले पनि केरुङ नाकाबाटै दशैँका लागि चीनबाट सामान आउने र त्यसले बजार मूल्यमा फरक नपर्ने आपूर्तिमन्त्री दिपक बोहराले बताए।

उनले भने, "तातोपानीमा अझै अप्ठ्यारो स्थिति नै छ तर त्यो खुलेपनि नखुलेपनि महंगी बढ्ला कि भन्ने जुन शंका छ, त्यो हुन पाउँदैन र हुँदैन।"

पटक-पटक नेपाली र चिनियाँ अधिकारीसँग तातोपानी नाका खोल्नका लागि आग्रह गरेका व्यवसायीले चिनियाँ पक्षले तातोपानी नाकाबाट भन्दा केरुङ नाकाबाटै नेपालसँगको व्यापार अघि बढाउन चाहेको पाइएको बताएका छन्।

वृद्धि

तर रुसुवाको केरुङ नाका तातोपानी जस्तो सहज नरहेको उनीहरुको भनाई छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बराल भन्छन्, "बाटोको अप्ठ्यारो र चीनका नियमले गर्दा केही झन्झटिलो भएको छ। त्यहाँबाट व्यापार गर्न तातोपानी जस्तो सहज छैन।"

केरुङ नाकाबाट काठमाण्डूसम्म सामान ल्याउँदा लागत बढ्ने भएकाले बजार मूल्य १० प्रतिशतसम्म बढ्न सक्ने उनको भनाई छ।

सडक, हवाई र समुद्रीमार्गबाट भए पनि दशैँका बेला नेपाली बजारमा चिनियाँ सामान पुर्याउन व्यवसायी लागिरहेको बताइएको छ।

केरुङ नाकालाई नै मुख्य नाका बनाउने हो भने नेपाल र चीन दुवैतर्फका सडकको स्तरोन्नति आवश्यक रहेको व्यवसायी बताउँछन्।