उज्बेकिस्तानमा तीन दिन राष्ट्रिय शोक

  • 3 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption ७८ वर्षीय करिमोफले उज्बेकिस्तानमा साढे दुई दशक भन्दा बढी समय शासन गरेका थिए

उज्बेक सरकारले मस्तिष्कघात भएको आंशकामा ६ दिनअघि अस्पताल भर्ना गरिएका राष्ट्रपति इस्लाम करिमोफको मृत्यु भएको पुष्टि गरेको छ।

२७ वर्षदेखि सत्तामा रहेका ७८ वर्षीय करिमोफलाई एशियाका एकजना प्रमुख तानाशाह मानिँदै आएको थियो।

उनको अन्त्येष्टि समरोहको रेखदेख साभकात मर्जियाएभले गर्नेछन् जसलाई दिवंगत राष्ट्रपतिका उत्ताराधिकारी समेत ठानिएको छ।

अधिकारवादी समूहले करिमोफले विपक्षीमाथि दमन गरि शासन चलाएको बताउने गरेका छन्।

अन्तेष्टि

मानवअधिकारकर्मीको समूहले भनेका छन्, विश्वमा करिमोफले दमनकारी शासनको नेतृत्व गरेका थिए।

एमनेष्टी इन्टरनेशनलकी वरिष्ठ अनुसन्धान निर्देशक अन्ना नाइस्टाटले भनिन्, "करिमोफले आफ्ना कुनै पनि विपक्षीलाई वर्षौंवर्षका लागि दबाएर राखे। आफ्नो सत्तालाई चुनौती दिनसक्ने ठानेका जोकोहीलाई उनले जेलमा पठाए। मनोमानी ढंगले जेलमा पठाउनु र यातना दिनुले नै त्यहाँको फौजदारी न्याय प्रणालीलाई चिनाउँथ्यो।"

एउटा राष्ट्रसंघीय प्रतिवेदनले पनि करिमोफको शासनकालमा योजनाबद्ध रुपमा यातना दिइएको उल्लेख गरेको छ।

तस्वीर कपीराइट AP
Image caption करिमोफ हुर्किएको अनाथालय रहेको समारकण्डमा अन्तेष्टी गरिने भएकोले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, उनलाई मध्य एशियाको स्थायित्वका लागि भूमिका खेलेको भन्दै राजनेताको रुपमा व्याख्या गरेका छन्।

पुटिनले करिमोफको निधन उज्बेक जनताका लागि ठूलो क्षति भएको बताएका छन्।

उनका समर्थकले उनी स्थिरताको कारक भएको टिप्पणी गर्दै आएका छन्।

शनिबार गृहनगर समारकण्डमा उनको अन्तयेष्टि गरेपछि तीनदिने राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।

तानाशाह

अफगानिस्तानसँग सिमाना जोडिएको उज्बेकिस्तानलाई इस्लामवादी उग्रवादबाट जोखिम रहेको राष्ट्रपति करिमोफले बताउने गरेका थिए।

करिमोफको निधनको औपचारिक घोषणा शुक्रबार राति गरिएको थियो तर घोषणा गरिनु केहि घण्टा पहिल्यै टर्कीका प्रधानमन्त्रीले टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

इस्लाम करिमोफले अढाई दशक भन्दा बढी शासन गरेपनि आफ्नो उत्तराधिकारी घोषणा गरेका थिएनन्।

कतिपयले उनको निधनपछि पर्दा पछाडि शक्तिमा आउन चलखेलहरु हुनसक्ने आंकलन गरेपनि उज्बेकिस्तानको नियन्त्रित व्यवस्थामा के भइरहेको छ भन्ने थाहा पाउन कठिन भएको जनाइएको छ।