‘मलेसियामा जिकाको पहिलो संक्रमण’

  • 3 सेप्टेम्बर 2016
जिका संक्रमणपछि तस्वीर कपीराइट REUTERS
Image caption जिका भाइरसको संक्रमणका कारण टाउको सानो भएका शिशुहरुको जन्म हुने गरेको पाइएको छ।

मलेसियाका एक स्वास्थ्य अधिकारीले उत्तरी मलेसियामा एक पुरुषमा जिकाको पहिलो संक्रमण भेटिएको जनाएका छन्।

जिका भाइरसको संक्रमणका कारण मस्तिष्कको पूर्ण विकास नभएका शिशुको जन्म हुने गर्दछ।

यसअघि वैज्ञानिकहरुले एसिया र अफ्रिकामा जिकाको संक्रमणको जोखिम रहेको उल्लेख गरेका थिए।

मलेसियाली स्वास्थ्य अधिकारीको भनाइमा उत्तरी मलेसियाको सवाह क्षेत्रका ६१ वर्षीय पुरुषमा सम्भवत: लामखुट्टेको टोकाइका कारण जिकाको संक्रमण भएको हो।

केही दिनअघि मलेसियामा सिंगापुर गएर फर्किएकी एक महिलामा जिका भाइरसको संक्रमण भएको पाइएको थियो।

छिमेक

छिमेकी सिंगापुरमा सय जनाभन्दा बढी मानिसमा जिकाको संक्रमण भेटिइसकेको छ।

त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार जिकाको संक्रमण रैथाने किसिमकै देखिएको छ र त्यो दक्षिण अमेरिकाबाट आएको होइन।

जिकाको संक्रमण भेटिएपछि सिंगापुरमा लामखुट्टे हुर्कने र लामखुट्टेले फुल पार्न सक्ने स्थानमा व्यापकरुपमा सफाइ अभियान थालिसकिएको छ।

तस्वीर कपीराइट AFP
Image caption मलेसियाको छिमेकी देश सिंगापुरमा जिकाको संक्रमण रोक्न लामखुट्टे मार्न थालिएको छ।

सिंगापुरका अधिकारीहरुले जिका भाइरस संक्रमणका लक्षण देखिएका गर्भवती महिलालाई आवश्यक स्वास्थ्य जाँच गराउने सल्लाह दिएका थिए।

गत वर्ष ब्रजिलबाट शुरु भएको जिका भाइरसको संक्रमण दक्षिण अमेरिकी देशहरुमा फैलिसकेको छ।

जोखिम

हालै ‘ल्यान्सेट इन्फेक्सीअस् डिजिजेज्’ नामक जर्नलमा लेख प्रकाशित गर्दै वैज्ञानिकहरुले एसिया र अफ्रिकाका दुई अरबभन्दा बढी मानिस जिकाको संक्रमणको जोखिममा रहेको उल्लेख गरेका थिए।

उनीहरुका अनुसार भारत इन्डोनेसिया नाइजेरियामा भविष्यमा सो संक्रमण फैलिने जोखिम उच्च छ।

तर उनीहरुले जिकासँग जुध्ने प्रतिरक्षा प्रणाली पनि बलियो रहेको बताएका थिए।

अहिले विश्वका ६५ भन्दा बढी देशमा जिकाको संक्रमण पाइएको छ।