हङकङबारे चीनको नयाँ चेतावनी

  • 6 सेप्टेम्बर 2016
नाथन ल
Image caption 'छाता प्रदर्शन'का बेला एक अगुवा २३ वर्षे नेथन ल पनि व्यवस्थापिकामा चुनिएका छन्।

चीन र हङकङका केही नवनिर्वाचित विधायकहरुबीच हङकङको मामिलामा चीनको कति अधिकार रहने भन्ने विषयमा चर्को विवाद हुने सम्भावना देखिएको छ।

चीनले हङकङमा स्वतन्त्रताको प्रवर्द्धन गर्ने कुनै पनि व्यक्तिलाई सजाय दिइने चेतावनी दिएपछि त्यस्तो सम्भावना बढेको हो।

हङकङमा आइतबार भएको व्यवस्थापिकाको चुनावमा थप प्रजातन्त्रवादी उम्मेदवारहरु विजयी भएपछि चीनको त्यस्तो चेतावनी सार्वजनिक भएको हो।

पछिल्लो चुनावमा ७० सीट रहेको व्यवस्थापिकामा ३० प्रजातन्त्रवादी उम्मेदवारहरु विजयी भएका थिए।

विरोध

चीनको हङकङ र मकाओ मामिलाका कार्यालयका एक प्रवक्ताले व्यवस्थापिका भवनभित्र वा बाहिर स्वतन्त्रताको समर्थनमा हुने कुनै पनि क्रियाकलापको बेइजिङले विरोध गर्ने बताए।

उनले त्यस्ता कार्यमा संलग्न हुनेविरुद्ध कानुनी कारवाही गरिने पनि बताए।

यसबाट बेइजिङले हङकङको स्वायत्तताको लागि हुन सक्ने कुनै पनि प्रकारको बहस रोक्ने नीति लिएको देखिन्छ।

तर हङकङमा आइतबार सम्पन्न चुनावका एक विजेता नेथन लले बीबीसीसँग भने, उनले आफ्नो कार्यकालमा हङकङका लागि थप अधिकार खोज्ने छन्।

प्रदर्शन

२३ वर्षे लले केही वर्षअघि हङकङमा बेइजिङको नीतिविरुद्ध भएको छाता प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

आइतबार सम्पन्न व्यवस्थापिकाको चुनावअघि कैयौं उम्मेदवारहरुलाई हङकङको स्वतन्त्रताको पक्षमा कुनै काम गर्ने छैन भनि लेखिएको कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका कारण चुनावमा उठ्न दिइएको थिएन।

चुनावमा नेथन ल जस्ता कैयौं प्रजातन्त्र पक्षधर उम्मेदवारहरु विजयी भएपछि चीनले हङकङकमा कडा नीति अख्तियार गर्ने संकेत दिएको हो।