लोकप्रियतावादले हिंसा भड्काउने चेतावनी

  • 6 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption कट्टरपन्थी नेताहरुको बोलीलाई उच्चायुक्त जेइदले आइएस विद्रोहीसंग तुलना गरेका छन्

राष्ट्रसंघका मानव अधिकार सम्बन्धी उच्चायुक्त जेइद राद अल हुसेनले नेदर्ल्याण्ड्समा भएको एक सुरक्षा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उग्रदक्षिणपन्थी डच नेता किर्ट वील्डर्सको चर्को आलोचना गरे।

कट्टरपन्थलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्ने खोक्रो राष्ट्रवादी नेताहरुमध्ये वील्डर्स एक भएको उनले बताए।

हुसेनले अमेरिकी रिपब्लिकन पार्टिका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प अनि ब्रिटेनका ब्रेक्जीट पक्षधर नाइजल फराज तथा फ्रान्सका मारि ल पेन को पनि तीखो आलोचना गरे।

तिनलाई घृणा तथा हिंसा प्रोत्साहनका लागि त्रासको प्रयोग गर्ने इस्लामिक स्टेट आइएसका विद्रोहीसंग उनले तुलना गरे।

उनले भने, “शायद इतिहासले वील्डर्स तथा उनीजस्तालाई पाठ पढाइसकेको छ कि यस्ता कट्टरता र अरुप्रतिको असहिष्णुतालाई कसरी प्रभावकारी राजनीतिक हतियार बनाइन्छ। समुदायहरुले त्रासपूर्ण तथा शत्रुवत शिविरमा आफुलाई कैद गर्न थाल्नेछन्। पूरै वातावरण घृणापूर्ण बन्नेछ अनि तीव्र गतिमा भयानक हिंसा उत्पन्न हुनसक्नेछ।”

प्रतिबन्ध

नेदरल्याण्ड्सका नेता वील्डर्सले गत महिना प्रकाशित उनको दलको चुनावी घोषणापत्रमा आफुले जिते सबै मस्जिद बन्द गराउने अनि कुरान तथा मुसलमान आप्रबासीहरुमाथि प्रतिबन्ध लगाउने जनाएका थिए।

सन् २०१७ मा हुने चुनावका लागि गरिएका मत सर्वेक्षणहरुमा उनको दल फ्रिडम पार्टि अगाडि रहेको छ।

गत महिना वील्डर्सले अमेरिकी रिपब्लिकन पार्टिको क्लिभल्याण्ड ओहायोमा भएको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

सो सम्मेलनले पार्टिका तर्फबाट डोनल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

ट्रम्पले आप्रवास तथा सामाजिक मुद्दाहरुमा कट्टर धारणा राख्दै आएका छन्।