‘भारत भ्रमण सम्बन्ध सुधारमा केन्द्रित हुने’

  • 7 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण मुलतः दुई देशबीचको सम्बन्ध ‘सुधार’मै केन्द्रित हुने बताएका छन्।

भारत भ्रमणको एजेण्डा तय गर्ने क्रममा पूर्व परराष्ट्रमन्त्री, सचिव र राजदूतहरुसँगको छलफलमा प्रचण्डले भारतसँग नयाँ सम्झौता गर्ने भन्दा पनि भएका सम्झौता कार्यान्वयनमा जोड दिने जानकारी गराएको बताइएको छ।

छलफलमा सहभागी परराष्ट्र मामिलाविज्ञहरुले दुई देशबीचको सम्बन्धमा समस्या देखिनुका कारणबारे भारतीय पक्षसँग खुलेर कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका रुपमा प्रधानमन्त्री प्रचण्ड आगामी साता छिमेकी मुलुक भारत जाने बताइएको छ।

केन्द्रित

उक्त भ्रमणका बेला नेपालका तर्फबाट उठाइनुपर्ने एजेण्डाबारे छलफल गरिरहेका प्रधानमन्त्रीले बुधबार पूर्व परराष्ट्रमन्त्री, सचिव र राजूदतहरुलाई भेटेका थिए।

शुरुवातमै आफ्नो भ्रमणका बेला गर्न चाहेको कामका बारेमा जानकारी गराएका प्रधानमन्त्रीले नाकाबन्दीदेखि दुई देशबीचको सम्बन्धमा देखिएका समस्यालाई हल गर्ने कुरामा भ्रमणलाई केन्द्रित गर्न खोजेको बताएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराज अधिकारीले भने, “प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा विश्वासको वातावरण बनाउनेमा जाने, सम्बन्ध सबै राम्रो नै छ। सँगसँगै बस्दा कहिलेकाहीँ समस्या पनि आउँछ। दूरीलाई हटाएर विश्वास बढाउने भनेर भन्नुभयो।”

आफूले कुनै नयाँ सम्झौता नगर्ने स्पष्ट पारेका प्रधानमन्त्रीले भारत र नेपालबीच विगतमा भएका सम्झौताको वर्तमान अवस्था र कार्यान्वयन पक्षमा छलफल गर्ने जानकारी गराएका थिए।

हुलाकी सडकको दोस्रो चरणको निर्माण र नौमुरे जलविद्युत योजनाको विकल्पबारे बारेमा पनि कुरा गर्ने जानकारी दिएको बताइएको छ।

स्वार्थ

छलफलमा सहभागी परराष्ट्रविज्ञहरुले सम्बन्ध सुधारको कुरा गर्दा सम्बन्धमा समस्या आउनुका कारणबारे खुलेर कुरा गर्न सुझाएको बताइएको छ।

छलफलमा सहभागी पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भने, “किन यसरी सम्बन्ध बिग्रियो जसले गर्दा अघोषित नाकाबन्दीको स्थिति हुन आयो? यसको बारेमा दुई मित्रको हैसियतले मन खोलेर कुरा गर्नुहोस्, मन खुलाएपछि मात्र विश्वासको वातावरण बन्छ। कुरा चपाएर हुँदैन भनेर हामीले सुझाव दिएका छौँ।”

राष्ट्रिय स्वार्थमा सम्झौता नगर्न र जनताको चाहना विपरीत नजान आग्रह गरेका विज्ञहरुले भारत र चीनबीच समान सम्बन्ध राख्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएको बताइएको छ।

केही विज्ञले भारतबाट फर्किएर संविधान संशोधन गर्दा भारतको चाहनामा गरिएको भन्ने पर्नजाने भएकाले भ्रमणअघि नै संविधान संशोधन गर्न आग्रह समेत गरेका थिए।

बुधबार नै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीसँग पनि छलफल गरेका छन्।

लिखितरुपमै दिइएको सुझावमा व्यापार घाटा कम गर्ने, नयाँ नाकाहरुलाई सहज बनाउने, लगानीको वातावरण बनाउनेतर्फ प्रधानमन्त्रीको ध्यानाक्रर्षण गरिएको छ।