सम्पदा पुनर्निर्माणमा स्वदेशी कालिगड

  • 8 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .
Image caption देशभर ७ सयभन्दा बढी पुरातात्विक सम्पदामा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ

भूकम्पका कारण भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण विदेशी कम्पनीलाई नदिइने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीले बताएका छन्।

मौलिकता हराउने भन्दै पशुपति क्षेत्रको मठमन्दिरको पुनर्निर्माणको काम विदेशीलाई दिने प्रक्रिया रोकेका संस्कृतिमन्त्री जीवनबहादुर शाहीले नेपाली कालिगडकै प्रयोगका लागि पुरातत्व विभागसँग सहमति भइसकेको बताए।

पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा पुरानो शैली नरहेको भन्दै आलोचना भइरहँदा संस्कृतिमन्त्रीले यस्तो बताएका हुन्।

सहमति

पशुपति क्षेत्रका मूल मन्दिर परिसरको निर्माण विदेशीलाई दिने प्रक्रिया रद्द गर्दै संस्कृतिमन्त्री जीवनबहादुर शाहीले उपत्यका लगायत भूकम्पका कारण भत्किएका ऐतिहासिक धरोहरको पुनर्निर्माण नेपालीले नै गर्ने बताए।

उनले त्यस्ता सम्पदाको पुनर्निर्माणको जिम्मा विदेशीलाई नभइ नेपालीलाई नै दिइने स्पष्ट पारे।

त्यसका लागि पुरातत्व विभागसँग भएको सहमतिबारे मन्त्री शाहीले भने, "विभिन्न स्थान जस्तै काष्ठमण्डप, चांगुनारायण, पाटन दरबार, हिजो जुन हिसाबले हाम्रा पुर्खाले बनाए, त्यस्तै शैलीमा निर्माण गर्ने क्षमता हामीमा छ, त्यो अरुमा हुनसक्दैन भन्ने मेरो मुख्य विषय हो।"

यसअघि पशुपति क्षेत्रको पुनर्निर्माणको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी भएको बताइएको थियो।

खाँचो

रानीपोखरीको मन्दिर पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिएपछि उक्त प्रक्रिया पनि रोकिएको थियो।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले संस्कृति मन्त्रालयसँग मौलिकता जोगाउने सहमति भएको बताउँदै नेपालीहरु यसका लागि सक्षम भएको बताए।

यद्यपि बजेट प्रमुख समस्या भएको बताउँदै उनले भने, "हामी आफैँ पनि स्वयम्भूको अनन्तपुर, शान्तिपुर, भक्तपुरको चाँगुनारायण बनाउँदैछौं, हामी पुर्खाले बनाएको धरोहर जोगाउन सक्षम छौं। खाँचो छ भने सोचको खाँचो छ, समयमा नै बजेट विनियोजन गर्ने विषयमा तदारुकता ल्याउने खाँचो छ।"

काठमाण्डू उपत्यकामा मात्र विश्व सम्पदामा सूचीकृत ७ वटा ऐतिहासिक सम्पदा छन्।

भत्किएका पुराना ऐतिहासिक धरोहरको पुनर्निर्माणका लागि कागजी प्रक्रिया पुरातत्व विभागले तयार पारेर सरकारलाई पेश गरिसकेको छ।