ब्रजिलमा प्यारालिम्पिक्स खेल शुरु

  • 8 सेप्टेम्बर 2016
तस्वीर कपीराइट All Sport
Image caption उद्घाटन समारोहमा ब्रजिलको सांगीतिक परम्परा र प्रविधिको प्रयोगबाट एउटा अनौठो प्रदर्शन देखाइएको थियो

ब्रजिलको सांगीतिक परम्परा, आतिसबाजी र आधुनिक प्रविधिको प्रयोग गरेर प्यारालिम्पिक्स खेलको उद्घाटन समारोहलाई शानदार रुपमा प्रस्तुत गरिएको छ।

उद्घाटन समारोहलाई विश्वभरका लाखौं मानिसले हेरेका छन्।

आर्थिक संकट र टिकट बिक्री सुस्त गतिमा हुँदा त्यसले खेलको तयारीलाई असर पुर्याएको थियो।

आर्थिक संकट

रियोमा खेल शुरु हुँदा उल्लासपूर्ण वातावरण थियो।

तर यो प्यारालिम्पिक्स गेम्स झण्डै झण्डै नहुन लागेको थियो।

हालैका दिनमा स्थानीय आयोजक समिति चरम आर्थिक संकटमा थिए।

त्यस्तो संकटले गर्दा ब्रजिलको केन्द्रिय सरकार आपतकालीन ऋण प्रवाह गर्न बाध्य भएको थियो।

शुरुको बजेटबाट पनि २ करोड पाउण्ड जति कटौती गरिएको थियो।

तस्वीर कपीराइट Reuters

आयोजकले प्यारालिम्पिक समुदायको उर्जालाई प्रतिबिम्बित गर्ने र पूर्वाग्रहपूर्ण सोचलाई चुनौती दिने उद्देश्य राखेका छन्।

प्रतिबन्ध

करिब पूर्ण क्षमतामा भरिएको रियोको म्याराकना रंगशालामा उपस्थित दर्शकलाई, ब्रजिलको सांगीतिक परम्परा र प्रविधिको प्रयोगबाट एउटा अनौठो प्रदर्शन देखाइएको छ।

यो समारोहमा विश्वभरका मानिसहरुको जीवन सुधारका लागि प्रविधिको भूमिका कस्तो हुन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

हालैको एउटा चरणमा बेच्न राखिएको ३५ लाख प्यारालिम्पिक्स खेलको टिकटको जम्मा १२ प्रतिशत मात्रै बिक्री भयो।

गत महिना भएको ओलिम्पिक गेम्समा ठुलो संख्यामा खाली सीट देखिएपछि त्यसलाई दोहोरिन नदिन आयोजकले टिकटको मूल्य घटाएका थिए र हजारौं टिकट स्कुललाई दिइएका थिए।

१ सय ६० देशका चार हजार भन्दा बढी खेलाडीले परेडमा भाग लिएका छन् तर त्यहाँ रुसी खेलाडीलाई समावेश गरिएको छैन।

राज्य प्रायोजित लागू औषध प्रयोग गरेको विषयमा समग्र रुसी टोलीलाई प्यारालिम्पिक्समा प्रतिबन्ध लगाइएको छ।