तिब्बतबाट आउने बाढीबारे चिन्ता

  • 8 सेप्टेम्बर 2016

नवीनसिं खड्का

वातावरण सम्वाददाता, बीबीसी विश्व सेवा

Image caption तिब्बतका हिमनदी छिटोछिटो पग्लन थालेको बताइन्छ

तिब्बतका हिमताल तथा नदीहरुका बारे चीनबाट सूचना प्रवाह नहुँदा अचानक आउने बाढीजस्ता प्रकोपबाट बच्ने योजना बनाउने आफ्ना क्षमतामा ह्रास भएको भारत तथा नेपालले जनाएका छन्।

स्रोतहरुका अनुसार हिमपहिरो, पहिरोले थुनेका नदी अचानक वेगले प्रवाह हुने, हिमनदी पग्लने, अनि हिमताल डरलाग्दो गरी भरिने जस्ता घटना पछिल्ला समयमा निकै बढेका छन्।

चिनियाँ वैज्ञानिकहरुले गरेका अध्ययनले तिब्बतका हिमनदी तथा पर्माफ्रस्ट भनिने बाह्रैमास जमेर रहने जमीनका सतह तीव्र गतिमा पग्लँदै छन्।

तिनलाई भूकम्पहरुले थप अस्थीर बनाइदिएका छन्।

एक ताजा अध्ययनले संसारभर जलस्तर बढेका स्थानहरुको सूचीमा तिब्बत सबभन्दा माथि रहेको देखाएको छ।

तिब्बती पठारमा भएका खनिज उत्खनन तथा बाँध निर्माणले तल्लो तटीय मुलुकहरुमा थप चिन्ता उत्पन्न भएका छन्।

तिब्बतबाट अग्रीम चेतावनीका सूचना प्रवाह नहुँदा भुटान, नेपाल, भारत अझ सम्भवत: बांग्लादेश जस्ता तल्लो तटीय देशहरुमा जल उत्पन्न प्रकोपले ठूलो मानवीय तथा अन्य क्षति पुर्याउन सक्छ।

बाढी तथा क्षति

यसै वर्षको जुलाई महिनामा तिब्बतसंग जोडिएको एक नेपाली शहर छेउको नदीमा अचानक आएको बाढीले थुप्रै घरहरु बगायो।

नेपालका अधिकारीहरुका अनुसार त्यो बाढी तिब्बती क्षेत्रमा पहिरोले थुनिएको भोटेकोशी अचानक खुल्दा आएको हो।

तिब्बतमा शुरु भएर नेपाल हुँदै बग्ने कैयौं नदीहरु मध्ये भोटेकोशी एक हो।

तस्वीर कपीराइट prem baniya
Image caption भूकम्पले क्षतविक्षत बनाएको लिपिंग बजार बाढीको पनि जोखिममा छ

तिब्बतसंग जोडिएको लिपिंग बजारका अधिकांश घर या त बाढीको पानीले बगायो या त बाढीले निम्त्याएको भूक्षयका कारण ढले।

नजिकैको बाह्रबिसे बजार तथा अन्य साना वस्तीहरुमा कैयौं घर बाढीका कारण निकै जोखिमयुक्त अवस्थामा रहेको बीबीसीले देखेको छ।

गत वर्षको भूकम्पबाट सबभन्दा धेरै प्रभावित ठाउँमध्ये यो एक थियो।

“मेरो घर त्यहीं उभिएको थियो। तर अब अहिले त्यहाँ केवल नदीको मास्तिर भीरमात्र देखिन्छ,” एक स्थानिय पसल सञ्चालक नीम्जी शेर्पाले बताइन्।

“त्यो रात मलाई अलि माथि बस्ने आफन्तले तीव्र गतिमा बाढी आइरहेको सूचना फोनबाट दिए। त्यसपछि मैले मेरा बुढा पतिलाई घरबाट निकालेर अलि सुरक्षित स्थानमा लगें।”

“अर्को दिन बिहानै हेर्न आउँदा त हाम्रो घर र सबै सामान बगाइसकेको रहेछ। पोहोर साल भूकम्पले मेरो घर भत्कायो। त्यसपछि यहाँ आएर जीवन शुरु गरेको थिएं। यो पनि बाढीले लग्यो,” शेर्पाले आँखाबाट आँसु झार्दै भनिन्।

उनको घरभन्दा अलि पर्तिर नेपाल र तिब्बत जोड्ने अरनिको राजमार्गको एक खण्ड बगाएपछि आवतजावत ठप्प भयो।

“अधिकारीहरुले हामीलाई रात परेपछि सय मीटर माथि अग्लो ठाउँमा गएर सुत्नु भनेका छन्, किनभने यहाँ के हुन्छ भन्ने कसैलाई थाहा छैन,” निम्जी शेर्पाले भनिन्।

“तर हामी कतिञ्जेल यसरी बस्न सकौंला?”

सिन्धुपाल्चोक जिल्लाका अधिकारीहरुले जुलाईको बाढीका बेला बेलैमा मानिसहरुलाई अन्यत्र सार्न सकिएको बताए।

“भाग्यले हाम्रो आफ्नै पूर्व सूचना प्रणालीका कारण हामीले मानिसहरुको ज्यान जोगाउन सक्यौं। तर यदी तिब्बतपट्टिबाट पनि समयमै चेतावनी मिलेको भए हामीले उनीहरुको सम्पत्ति समेत जोगाउन सक्थ्यौं,” तत्कालीन प्रमुख जिल्ला अधिकारी गोकर्ण दवाडीले बताए।

“भविष्यमा हुने प्रकोपको आशंकाले गर्दा हामीले चिनियाँ पक्षसंग पटक पटक यस विषयमा कुराकानी गरेका छौं, तर अहिलेसम्म केही हुन सकेको छैन,” उनले भने।

वितेका असी वर्षमा तिब्बतमा हिमताल फुटेर नेपालमा जल प्रवाह बढेका १० वटा घटनाका अभिलेख वैज्ञानिकहरुले राखेका छन्।

राजधानी काठमाण्डूमा अधिकारीहरुले भोटेकोशी घटनाले आँखा खोलेको बताए।

“अहिलेसम्म चीन र नेपाल बीच बाढीको पूर्व सूचना आदानप्रदान गर्ने कुनै प्रणाली स्थापित छैन,” नेपालको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराज शर्माले भने।

“चीनको मौसम विज्ञान विभागसंग यसबारे प्रारम्भिक कुराकानी भएका छन्। तर यस विषयलाई परराष्ट्र मन्त्रालयमार्फत गम्भीर ढंगले उठाउनु जरुरी छ।”

जोखिम

Image caption गंगाका थुप्रै सहायक नदी नेपाल भएर बग्छन् जसले गर्दा पूर्व सूचना प्रणालीका लागि नेपाल महत्वपूर्ण छ

तिब्बतसंग जोडिएका नेपाली वस्तीका बासिन्दा त जोखिममा छन् नै, टाढा टाढाका वस्ती पनि सुरक्षित छैनन्।

भोटेकोशी नदी कोशी नदीको सहायक नदी हो। यो नेपालबाट भारतमा गई गंगा नदीमा मिसिन्छ।

दक्षिण पूर्वी नेपालको सुनसरी जिल्लामा पुग्दा कोशीले सबभन्दा विशाल र शक्तिशाली आकार ग्रहण गर्छ। त्यहाँका स्थानिय बासिन्दाले तिब्बतको बाढी बारे सुनेको र चिन्तित भएको बताए।

बिहारको दुख भनिने कोशी नदीमा सन् २००८ मा बाढी आएको थियो। त्यसले नेपाल र भारतमा गरी दशौं हजार मानिस विस्थापित भए।

एकजना स्थानिय जलस्रोत विद देवनारायण यादवले भविष्यमा बाढी आउने चिन्ता आधारहिन नभएको बताए।

“यहाँका मानिसहरुलाई तिब्बतमा हिमताल फुटेर पश्चिम नेपाल तथा भारतको ब्रह्मपुत्र क्षेत्रमा बाढी आएको भन्ने जानकारी छ,” यादवले भने।

“सन् २००८ को कोशी बाढीको त्रास मानिसहरुको स्मरणमा ताजै रहेको हुँदा माथिल्ला तटमा के भइरहेका छन् भन्ने बारे उनीहरुमा चिन्ता छ।”

कोशी नदीको ब्यारेज बाढी नियन्त्रणका लागि भारतले बनाएको हो। यसको सञ्चालन भारतीय अधिकारीहरुले गर्छन्।

सन् १९६२ मा बनाइएयो यो संरचनाले वर्तमान आवश्यकता सम्बोधन हुन नसक्ने चिन्ता बढेका छन्। भारतीय सरकार यो क्षेत्र भन्दा निकै माथि नेपालभित्रै एक विशाल बाँध बनाउने योजनामा छ।

“त्यस्ता विशाल संरचनाले हामीलाई झन् तर्साउँछ, किनकि तिनले विपदलाई कैयौं गुना ठूलो बनाइदिन्छन् र त्यो हामीले बेहोर्नुपर्छ,” यादवले भने।

भारतीय ध्यान

भारतको केन्द्रिय जल आयोगलाई नयाँ बाँधको योजना र निर्माणको जिम्मा दिइएको छ।

अधिकारीहरु भन्छन् उनीहरु पनि तिब्बती क्षेत्रबाट उत्पन्न हुने बाढीबाट चिन्तित छन्, तर मूल ध्यान चाहीं तिब्बती नदीहरुमा चीनले बनाइरहेका बाँधमा छन्।

“यदी त्यहाँबाट विशाल मात्रामा पानी छाडिए भने तिनले बाढी निम्त्याउनेछन्। यदी भारतीय क्षेत्रमा पानी जम्मा गर्ने व्यवस्था नगरिए त्यसले ठूलो आपत पार्न सक्छ,” आयोगका अध्यक्ष घनश्याम झा ले बीबीसीलाई बताए।

“बाढीका सूचना आदानप्रदान गर्ने निकाय हामीसंग छन्, तर सबै अपेक्षित सूचना उपलब्ध हुँदैनन्।”

Image caption कोशीको बाढीले भारतको बिहारमा बेला बेला निकै क्षति पुर्याउने गर्छ

तिब्बतसंग सीमा जोडिएको भारतीय राज्य अरुणाचल प्रदेशको जलस्रोत विभागले बाढीको चेतावनीका लागि सूचना आदानप्रदान गर्न उचित सञ्जालको आवश्यकता औंल्याएको छ।

“सन् २००० को मे ११ मा पासीघाटमा अचानक आएको बाढीले यदी उचित सञ्जाल तथा तल्लो तटीय मुलुकसंग सूचना आदानप्रदान गरिएमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने देखाएको छ,” उसले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

हाम्रा जिज्ञासाबारे बेइजींगस्थित चिनियाँ अधिकारीहरुले जवाफ दिएनन्।

तर तिब्बतमा रहेका अधिकारीहरुले चाहीं बाढीसम्बन्धी सूचना भारत र बांग्लादेशसंग बाँड्ने गरिएको बताए।

चिनियाँ जलस्रोत मन्त्रालयले निर्देशन दिए त्यस्तो सूचना बाँड्ने काम नेपालसंग पनि गर्न सकिने उनीहरुले बताए।

संयुक्त राष्ट्रसंघ यस्ता विषयमा सबै पक्षले मिलेर काम गरुन् भन्ने चाहन्छ।

“यस क्षेत्रका देशहरुमाझ यस्ता विषयमा सीमा वारपार सहयोग हुनुपर्छ। त्यति नभए बाढी नियन्त्रण गर्न सकिंदैन,” नेपालस्थित राष्ट्रसंघीय विकास कार्यक्रमका वरिष्ठ अधिकारी तथा नेपालको बाढी व्यवस्थापनको क्षेत्रमा अनुभवी विजय सिंहले बताए।

“हामी नेपाल र चीन दुवै सरकारका लागि एक साझा मञ्च बनाउँदै छौं। दुवै पक्षबीच सूचना आदानप्रदानको महत्व हामीले बुझैका छौं, तर त्यसो हुन केही समय लाग्ला।”