९/११ को १५ औँ वर्षगाँ‍ठ

  • 11 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption पन्ध्र वर्षअघिको आक्रमणमा मारिएकाहरुको सम्झनामा न्यूयोर्कमा सम्झना सभा गरिएको छ

न्यूयोर्कमा पन्ध्र वर्षअघि विमान अपहरण गरेर वर्ल्ड ट्रेड सेन्टरको ट्वीन टावरमा पहिलो आक्रमण गरेको समय सम्झना गर्दै घण्टहरु बजाइएका छन्।

घटनामा तीन हजार जतिको ज्यान गएको थियो।

राष्ट्रपति बराक ओबामाले ह्वाइट हाउसमा एक मिनेट मौनधारण गरेका छन्।

उनले त्यहींबेला आक्रमणमा परेको अर्को ठाउँ पेन्टागनमा आयोजित स्मरण कार्यक्रममा सम्बोधन गर्नेछन्।

इतिहासको 'कालो दिन'

उनी भन्छन्, “पन्ध्र वर्षअघिको सेप्टेम्बरको त्यो दिन अरु दिन जस्तै शुरु भएको थियो तर त्यो हाम्रो मुलुकको सबैभन्दा कालो दिनमध्ये एकमा परिणत भयो। ट्वीन टावर फोहोरको थुप्रोमा परिणत भयो। तीन हजार जति निर्दोष जीवनहरु गुमाउनुपर्यो।”

राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्प र हिलरी क्लिन्टन वर्ल्ड ट्रेड सेन्टरको पुनर्निमाण क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने अपेक्षा राखिएको छ।

ट्वीन टावर भत्केको ग्राउण्ड जिरो भनिने स्थानमा पीडितहरुको नाम पढेर स्मरण गरिनेछ।

आक्रमणकारी १९ मध्ये १५ जना साउदी नागरिक थिए।

एउटा स्वतन्त्र समूहले ९११को प्रतिवेदन आक्रमण भएको एक वर्ष पूरा भएपछि तयार पारेका थिए।

प्रतिवेदन

उक्त प्रतिवेदनका २८ वटा पृष्ठ १३ वर्षसम्म सार्वजनिक गरिएको थिएन।

तर ती पृष्ठहरु गत जुलाई महिनामा सार्वजनिक गरिएको थियो।

रिपोर्ट अनुसार साउदी अरेबियाभित्रका मानिसहरुबाट आक्रमणकारीले आर्थिक सहायता पाएको देखिएपनि साउदी सरकारको कुनै आधिकारिक भूमिका देखिएन भनिएको छ।

गत हप्ता अमेरिकी कंग्रेसले ९११ का पीडितहरुले साउदी सरकारविरुद्ध मुद्दा हाल्न सक्ने विधेयक सर्वसम्मतले पारित गरेको थियो।