युद्धविराम अघि सिरियामा तेज हवाई हमला

  • 11 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption सिरिया युद्धमा धेरै थरी विद्रोही अनि थुप्रै शक्ति राष्ट्रहरुको स्वार्थ जेलिएको छ

सिरियाबाट प्राप्त खबरहरुका अनुसार रुस र अमेरिकाले त्यहाँ सोमबारबाट युद्धविराम लागु गराउन सहमति गरेको भोलिपल्ट तीव्र हवाई हमलाहरुमा परी एक सयभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

जिनिभामा अमेरिकी तथा रुसी विदेशमन्त्री बीच भएको उक्त सहमति लगत्तै तेज पारिएका हवाई हमलामा परी विद्रोही नियन्त्रित इडलिब शहरमा करिब ६० जना मारिएका छन्।

ती मध्ये धेरै तरकारी बजारमा किनमेल गर्न गएकाहरु रहेको अभियानकर्मीहरुले बताएका छन्।

त्यस्तै एलेप्पो शहरको केन्द्र वरपर ४५ जना मारिएका खबर छन्।

अनुमोदन

यसबीच रुस र अमेरिकाबीचको सहमतिलाई सिरियाली सरकार तथा विपक्षीहरुको मुख्य वार्ताकार समूह दुवैले अनुमोदन गरेका छन्।

टर्की तथा यूरोपेली युनियन इयुले सहमतिको स्वागत गरेका छन्, तर त्यसलाई कार्यान्वयन गर्न चुनौति रहेको बताएका छन्।

टर्कीले शुरुबाटै सहायता दिन थाल्नुपर्ने बताएको छ भने इयुकी विदेश नीति प्रमुख फेडरिका मोगेरिनीले राजनीतिक संक्रमण पनि थाल्नुपर्ने बताइन्।

डमास्कसमा रहेका सम्वाददाता जेरेमी बोवेन भन्छन् विविध विद्रोहीहरुलाई सहमतिमा ल्याएर अघि बढ्न कठिन हुनेछ।

“यो सहमति लागु गराउने हो भने धेरै विषय एकैसाथ मिल्दै जानुपर्छ। सबभन्दा मुख्य चुनौति त थरी थरीका विद्रोही समूहहरुलाई युद्धबाट विमुख गराउनु हो। त्यसैले समस्या धेरै छन्, तर अत्यन्त अन्धकारको समयमा यो प्रकाशको एउटा सानो किरण चाहीं हो,” बोवेनको भनाई।

यदि सहमति अनुरुप सोमबारदेखि कम्तीमा एक सातासम्म युद्धविराम लागु भए अमेरिका र रुसले इस्लामी विद्रोहीहरुविरुद्ध मिलेर हवाई हमला गर्ने बताइएको छ।