युद्धविरामप्रति विद्रोहीको असन्तुष्टि

  • 12 सेप्टेम्बर 2016
syria तस्वीर कपीराइट AP
Image caption अमेरिका र रुसका विदेशमन्त्रीहरुले सिरियामा युद्धविराम गराउने सहमति गत साता नै जुटाएका थिए

सिरियामा सोमबारदेखि लागू हुने गरी अमेरिका र रुसले जुटाएको युद्धविरामको सहमति कार्यान्वयन हुनेमा आशंकाहरु उब्जिएका छन्।

कतिपय सिरियाली विद्रोही समूहले उक्त युद्धविरामप्रति असन्तुष्टि जनाएपछि उक्त सहमतिको पूर्ण कार्यान्वयनको अपेक्षा धर्मराएको देखिन्छ।

जटिल

अमेरिका र रुसले जुटाएको सहमति अनुसार सोमबार सूर्यास्तसंगै युद्धविराम लागू हुनेछ।

तर लागू हुनुपूर्व नै त्यसको कार्यान्वयनप्रति आशंकाहरु देखिएका छन्।

कतिपय विद्रोही समूह युद्धविरामबाट खुसी छैनन्।

तर उनीहरुले अझै पनि युद्धविराममा सहभागी हुने वा नहुने भन्नेबार औपचारिक घोषणा भने गरिसकेका छैनन्।

सबैभन्दा शक्तिशालीमध्येको एक विद्रोही समूह अहरर अल शामले युद्धविरामका केही पक्ष कार्यान्वयन गर्न अत्यन्तै जटिल रहेको बताएको छ।

अलेप्पोस्थित अर्को विद्रोही समूहका एक जना अधिकारीले शत्रुता अन्त्य र सहयोग वितरणप्रति आफूहरु सकारात्मक रहेपनि सम्झौताका अन्य पक्षप्रति चिन्ताहरु रहेको बताए।

तयारी

युद्धविराम सुरु हुनु एकदिनअघि सम्म पनि सिरियाली र रुसी विमानहरुले अलेप्पो र इडलिबमा हवाइ हमलाहरु जारी राखेको विवरणहरु प्रकाशमा आएका छन्।

युद्धविराम लागू भएसंग राहत वितरणलाई तीव्रता दिने तयारीमा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु देखिन्छन्।

ती संस्थाहरुले आफूहरुको पहिलो प्राथमिकता खानेकुरा र औषधीहरु पुर्याउनु हुने बताएका छन्।