राहतमा सघाउन सेना परिचालन: रुस

  • 13 सेप्टेम्बर 2016
तस्वीर कपीराइट ALEPPO SIEGE MEDIA CENTRE

सिरियामा संघर्षविरामको अवस्थामा अत्यावश्यक मानवीय सहायताहरु वितरण गर्न सघाउन उत्तरी सिरियास्थित एउटा महत्वपूर्ण राजमार्गमा आफ्ना सेना परिचालन गरेको रुसले बताएको छ। रुसी समाचार एजेन्सी तासका अनुसार रुसी सैनिकहरुले एलेप्पो शहर तर्फ जाने एउटा महत्वपूर्ण सडकखण्ड -कास्तेलो रोड- को केही भागलाई मंगलबार सुरक्षित तुल्याएका छन्।

तर यो विवरणको स्वतन्त्र रुपमा पुष्टि भनेको भएको छैन।

गत शुक्रबार बोल्दै अमेरिकी विदेशमन्त्री जन केरीले उक्त सडकलाई असैनिकीकरण गर्न आह्वान गरेका थिए।

काम

तस्वीर कपीराइट AFP

त्यहांबाट भएर राहत सहायता सामग्रीहरु बोकेका सवारी जत्थालाई अघि बढाउनका लागि अमेरिकाले रुससंग मिलेर काम गर्ने बताएको थियो। विवरणहरुका अनुसार सोमबार सूर्यास्तपछि लागू भएको युद्धविराम पहिलो दिन सामान्यतया कायम रहेको देखिएको छ।

युद्धविराम लागू भएको पहिलो १५ घन्टामा कुनै पनि गैरसैनिकको मृत्यु नभएको जानकारी आफूसंग रहेको युके अवस्थित एउटा मानवअधिकारवादी निगरानी समूह, सिरिएन अब्जरभेटरी फर ह्युमन राइट्स, ले जनाएको छ।

द्वन्द्वग्रस्त उत्तरी शहर एलेप्पोका वासिन्दाले पनि त्यहांको अवस्था शान्त रहेको बताएका छन्।

ग्यारेन्टी

तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्र संघका अधिकारीहरु भन्छन्, उनीहरु उक्त शहरको घेराबन्दीमा परेका क्षेत्रहरुमा राहत सहायता पु-याउन तयार छन्, तर त्यहां शान्ति कायम हुन्छ भन्ने पहिले ग्यारेन्टी गरिनु पर्छ।

सिरियाको सरकारी संचारमाध्यमका अनुसार सिरियाली सरकारले आफू र संयुक्त राष्ट्रसंघसंगको पूर्वसंयोजन विना विशेष गरी टर्की सरकारबाट प्राप्त हुने राहत सामग्री एलेप्पोमा प्रवेश गर्न नदिने बताएको छ। विद्रोहीहरुको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा सरकारी सेनाको घेरावन्दीमा दुईलाख पचास हजार गैरसैनिकहरु फँसिरहेका अनुमान गरिएको छ।