आशंकामाझ सिरियामा युद्धविराम

  • 13 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption पाँचवर्षसम्म भएको युद्धमा सिरियामा साढे दुईलाख भन्दा बढी मानिसले ज्यान गुमाएका छन्

सिरियामा आश‌ंकामाझ नयाँ युद्धविराम कार्यान्वयनमा आएको छ।

गत शुक्रबार अमेरिका र रुसले युद्धविरामको सम्झौता गरेपछि सिरियामा सोमबार सूर्यास्तबाट युद्धविराम कार्यान्वयनमा आएको हो।

वासिङ्टनस्थित विदेशमन्त्रालयमा बोल्दै अमेरिकी विदेशमन्त्री जन केरीले प्रारम्भिक खबरहरुले हिंसामा केही कमी आएको संकेत गरेको बताएका छन्।

तर उनले युद्धविराम कतिको प्रभावकारी भयो भनेर अहिले नै अन्तिम निस्कर्ष निकाल्नु निकै छिटो हुने बताए।

अन्तिम अवसर

युद्धविरामको सम्झौता गर्न मध्यस्थता गरेका केरीले सिरियामा शान्ति ल्याउन सम्भवत यो अन्तिम अवसर हुनेसक्ने पनि बताए।

उनले आउँदा दिनहरुमा युद्धविरामको उल्लंघन हुनसक्ने कुरालाई मध्यनजर गर्दै सबै पक्षलाई सम्झौताको शर्तमा रहन आह्वान गरेका छन्।

उनले भने, "हामी विश्वास गर्छौं कि राजनीतिक परिणाम नै द्वन्द्वको एकमात्रै यथार्थवादी र सम्भावित समाधान हो, म सबै पक्षलाई सहयोग गर्न आह्वान गर्छु किनभने सिरियालाई जोगाउनका लागि यो अन्तिम अवसर हुनसक्छ।"

विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोका एकजना बासिन्दाले दिनभरीजसो चलेको गोलाबारी साँझ रोकिएको बीबीसीलाई बताएका छन्।

उनले एलेप्पो सहरमाथि विमानहरु पनि नदेखिएको बताए।

सिरियाका राष्ट्रपति बसर अल असदले युद्धविरामको सम्मान गर्ने बाचा गरेको रुसले जनाएको छ।

युद्धविराम धेरैजसो स्थानमा कायम रहेको अधिकारकर्मीले बताएका छन्।

घोषणा

मानवीय सहायता समूहहरुले युद्धले निकै क्षति पुर्याएका एलेप्पो सहितका सहरमा सहायता सामग्री पुर्याउने आशा राखेको बताएका छन्।

सोमबार सूर्यास्तबाट युद्धविराम लागु भएसँगै सिरियाको सेनाले आफ्ना सैन्य कारबाहीलाई सात दिनसम्म रोक्ने घोषणा गरेको छ।

अनुगमन गर्ने समूह सिरियन अबजरभेटरी फर ह्युमन राइट्सले धेरैजसो लडाइँका अग्रमोर्चा शान्त देखिएको बताएका छन्।

सिरियामा युद्धविराम गर्ने सम्झौता गत शुक्रबार जिनिभामा अमेरिका र रुसबीच भएको थियो।

उक्त सम्झौता अनुसार दुबै पक्षले बिना रोकतोक घेराबन्दीमा रहेका क्षेत्रमा मानवीय सहायत पुर्याउन दिनुपर्ने बताइएको थियो।

यदि युद्धविराम सातदिनसम्म कायम रहे रुस र अमेरिकाले विद्रोही समूहहरुमाथि मिलेर हवाइ हमला गर्नेछन्।