‘विश्वासको वातावरण निर्माण गरिन्छ’

  • 14 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री प्रचण्डले दिल्ली भ्रमणको एक दिन अगाडि आफ्नो कार्यक्रम र कार्यतालिका प्रस्तुत गरे

राजकीय भ्रमणका क्रममा दिल्ली प्रस्थान गर्नु एक दिन अगाडि बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो मूल उद्देश्य दुई देशबीच विश्वासको वातावरण बनाउनु रहने बताए।

“यसपटकको भ्रमणमा हाम्रो प्राथमिकता धेरै विषय उठान गर्नुतिरभन्दा असल नियतका साथ नेपाल र भारतकाबीच विश्वासको वातावरण निर्माण गर्ने, नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगिएको परियोजनाहरुको प्रभावकारी तथा शीघ्र कार्यान्वयन गर्न जोड दिनमा नै हुनेछ,” प्रचण्डले भने।

कार्यतालिका

संसदलाई सम्बोधन गर्दै उनले विगतमा भएको उर्जा व्यापार सम्झौताको कार्यान्वयन, पञ्चेश्वर परियोजनाको विस्तृत आयोजना प्रतिवेदनको शीघ्र अध्ययन तथा अनुमोदन तथा भूकम्प पुनर्निर्माणमा भारतीय सहयोगको उपयोग बारे कुराकानी अघि बढ्ने बताए।

उनले विहिबार दिल्ली पुगेपछि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग औपचारिक छलफल हुने कार्यतालिका रहेको सुनाए।

दिल्लीको कार्यक्रमका साथै यो भ्रमणमा प्रधानमन्त्री प्रचण्ड एक जलविद्युत आयोजनाको अवलोकन गर्न हिमाञ्चल प्रदेश पुग्नेछन् भने उनले हरिद्वारमा औद्योगिक उत्पादन इकाइको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ।

उनी आगामी आइतबार स्वदेश फर्कने बताइएको छ।