लुला विरुद्ध भ्रष्टाचारको आरोप

  • 15 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption लुलालाई ब्रजिलका सबभन्दा लोकप्रिय राष्ट्रपतिहरु मध्ये एक मानिन्छ

ब्रजिलका अभियोजनकर्ताले पूर्व राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भालाई सरकारी तेल कम्पनीको भ्रष्टाचारको नाइके भएको अभियोग लगाएका छन्।

उनी तथा उनकी पत्नी विरुद्ध भ्रष्टाचार तथा सम्पत्ती शुद्धिकरणसंबन्धी मुद्दा दायर गरिएको छ।

पेट्रोबास कम्पनीमा भएको भनिएको अर्बौं डलर बराबरको विशाल भ्रष्टाचारको काण्ड सम्बन्धमा दायर उक्त मुद्दामा पूर्व राष्ट्रपति लुला तथा उनकी पत्नीमाथि सो काण्डबाट व्यक्तिगत सम्पत्ती जोडेको, पैसा कमाएको तथा समुद्री तटमा घर बनाएको उल्लेख छ।

एक संघीय अभियोजनकर्ताले उक्त काण्ड व्यक्तिगत सम्पत्ती जोड्नेमा मात्र सीमित नभएको भन्दै लुलाले एक व्यापक घूसखोरी प्रणालीको नेतृत्व गरेर पेट्रोबासबाट ठूलो मात्रामा पैसा आफ्नो वर्कर्स पार्टीको खातामा सारेको बताए।

खण्डन

लुलाले यी आरोपको निरन्तर खण्डन गर्दै आएका छन्।

ती सबै आरोप राजनीति प्रेरित तथा आफ्नो पार्टिविरुद्ध लक्षित भएको उनले बताउने गरेका छन्।

तस्वीर कपीराइट EPA
Image caption लुलाको उत्तराधिकारी मानिएकी जिल्मा रुसेफमाथि महाभियोग लगाइएको छ

लुलालाई ब्रजिलका सबैभन्दा लोकप्रिय राष्ट्रपतिहरु मध्ये मानिन्छ।

उनलाई सन् २०१८ मा हुने चुनावको सम्भावित उम्मेदवार समेत ठानिन्छ।

लोकप्रियता

तर उनको पार्टीको लोकप्रियता यस वर्ष अलि खस्किएको देखिएको छ।

उनको उत्तराधिकारी मानिएकी जिल्मा रुसेफ विरुद्ध गत महिना महाभियोग लगाइएको थियो।

ब्रजिलको कानुन अनुसार आगामी दिनमा न्यायाधीशले लुला माथि मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गर्नेछन्।