प्रधानमन्त्रीको राजनीतिक भेटघाट शुरु

  • 15 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री प्रचण्डले नेपाली दूतावासमा भारतीय विपक्षी नेताहरुसँग भेटवार्ता गरेका थिए

भारतको राजकीय भ्रमणका क्रममा दिल्ली पुगे लगत्तै प्रधानमन्त्री प्रचण्डले राजनीतिक भेटवार्ता शुरु गरेका छन्।

विदेश मन्त्री सुष्मा स्वराज उनलाई पनि उनका पूर्ववर्ती केपी शर्मा ओलीलाई जस्तै स्वागत गर्न विमानस्थल पुगेकी थिइन्।

त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न भारतीय जनता दल युनाइटेडका शरद यादव र नितिश कुमार, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका सीताराम यचुरी र राष्ट्रवादी काँग्रेसका डिपी त्रिपाठी नेपाली राजदूतावास पुगेका थिए।

भेटमा प्रचण्डले संविधान र संघीयता कार्यान्वयनमा महत्वपूर्ण निर्णय गरेर आफू भारत आएको बताए।

समझदारी

उनले तराई केन्द्रित दलका माग बमोजिम संविधान संशोधनको प्रयास गरिरहेको जानकारी दिए।

भेटपछि साँझ दिल्लीस्थित नेपाली दूतावासले प्रवासी नेपालीलाई निम्त्याएर गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, “संविधान र संघीयता कार्यान्वयनमा केही महत्वपूर्ण निर्णय गरेर हामी आएको छौँ। के सत्तापक्ष, के प्रतिपक्ष, के आन्दोलनरत दल समझदारी बन्दै गएको छ।”

उच्च अदालत गठन र त्यससँग सम्बन्धित ऐन पारित गरेको विषयलाई उनले त्यसको प्रगतिको रुपमा प्रस्तुत गरे।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता यचुरीले भने, “दुई देशबीच बाँकी धेरै विषय समाधान गर्न केही समय लाग्छ, तर पहिले संविधान संशोधन गर्ने लगायतका काम अघि बढ्नुपर्छ, त्यसले मात्र नेपालमा ठोस राजनीतिक स्थिरता दिन्छ।”

प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध सुधार गर्न आफू दिल्ली पुगेको दोहो-याए।

प्रयास

प्रधानमन्त्रीका एकजना सल्लाहकारका अनुसार प्रचण्डले संविधान कार्यान्वयनका लागि हालसम्म भएका निर्णयप्रति दिल्लीको समर्थन जुटाउने प्रयास गर्ने छन्।

उनका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, “अहिले भारतले केही समस्याका माझ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ भनेर संविधानको स्वागत गर्दा नै राम्रो हुने छ।”

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय राष्ट्रपति भवनमा बसिरहेका उनले शुक्रबार नै भारतीय राष्ट्रपति लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्दैछन्।