क्लिन्टन चुनावी प्रचारमा फर्किइन्

  • 16 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption अमेरिकामा नयाँ राष्ट्रपति पदका लागि आउँदो नोभेम्बरमा निर्वाचन हुँदैछ

अमेरिकी राष्ट्रपति पदको लागि डेमोक्र्याटिक पार्टिकी उम्मेदवार हिलरी क्लिन्टन, श्वासप्रश्वाससम्बन्धी रोग निमोनियाबाट निको भएपछि पुन: चुनावी प्रचारप्रसारमा फर्किएकी छन्।

उनले पुन: यसरी अभियानमा फर्कँदा आफुले असाध्यै राम्रो अनुभव गरेको बताएकी छन्।

नर्थ क्यारोलाइनास्थित ग्रीन्जबरामा समर्थकलाई उनले विरामीबाट तङ्ग्रिनको लागि घरमा बस्दा आफुले चुनावी अभियानको शान्त समीक्षा गर्ने दुर्लभ मौका पाएको बताइन्।

दुर्लभ अवसर

श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया देखिएपछि तीनदिन आफ्नो चुनावी प्रचार प्रसारबाट बिदा लिएर बसेकी हिलरीले त्यसयताको आफ्नो पहिलो र्याली सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

उनका चिकित्सकले उनी स्वस्थ्य र तन्दरुस्त छिन् भनेको भोलिपल्ट उनी चुनावी अभियानमा फर्किएकी हुन्।

चिकित्सकले दिएको रिपोर्ट अनुसार उनको कोलेस्ट्रोल र मुटुको धड्कन सबै सामान्य अवस्थामा छन्।

नर्थ क्यारोलाइनामा समर्थकलाई सम्बोधन गर्दै उनले भनिन्, "विरामीबाट तङ्ग्रिनका लागि घरमा आराम गर्दा आफ्नो चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ भनेर समीक्षा गर्ने एउटा दुर्लभ अवसर पाएँ।"

आरोप

र्यालीमा बोल्दै क्लिन्टनले आफूलाई मानिसहरुले सबै खालको आरोप लगाएको बताइन्।

उनले भनिन्, "मानिसहरुले मलाई विभिन्न किसिमका आरोप लगाए, सम्भवत तपाइँहरुले देख्नु नै भयो होला। तर कसैले पनि मलाई मैले चुनाव छोड्न आँटे भनेर आरोप लगाएनन् र म अवस्था जति नै कठिन भए पनि कहिल्यै पछि हट्नेवाला छैन।"

मत सर्वेक्षणले क्लिन्टन उनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पसँग कसिलो दौडमा रहेको देखाएको छ।