प्रचण्डका 'प्रचण्ड' चुनौती

  • 16 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री प्रचण्डलाइ बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्

प्रधानमन्त्रीको हैसियतमा दोस्रोपटक दिल्लीको भ्रमणमा निस्कदा प्रचण्ड पहिला भन्दा निकै बदलिएका छन्।

शान्ति प्रकियामा आएपछि ठुलो पार्टीको हैसियतमा सरकारको नेतृत्व गर्दाको उनको राप र ताप सेलाइसकेको कतिपयको बुझाइ छ।

तेश्रो ठूलो दलको नेताका रुपमा सात वर्षपछि सत्ता सम्हालिरहेका र कुनै बेला भारतविरुद्ध चर्का अभिव्यक्ति दिने गरेका पूर्व विद्रोही नेता प्रचण्डले दुई देश बिचको सम्बन्ध सुधार्न सक्लान्?

सन्देश

एक वर्षभित्र भारतको राजकीय भ्रमण गर्ने दोस्रो प्रधानमन्त्रीको रुपमा दिल्लीमा ओर्लदा प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरिन्।

संविधानका कतिपय प्रावधानप्रति भारतको सार्वजनिक असन्तुष्टिमाझ सीमा नाकामा भएका अवरोध नखुलेसम्म भारत नजाने अडान लिएका पूर्वप्रधानमन्त्री केपी ओलीले झण्डै सात महिनाअघि यस्तै सम्मानसहित दिल्लीको यात्रा गरेका थिए।

त्यसबेला भारतीय प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दा त्यसअघि आफ्नै सरकारले चिसो प्रतिक्रिया जनाएको नेपालको संविधानको स्वागत गरे।

तर भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति निकाल्ने सघन प्रयास विफलतामा टुंगिदा आपसी तिक्तता नमेटिएको सन्देश प्रवाह भयो।

यसपटक विशिष्ठ अधिकारीसहित झण्डै सवा सयजनाको प्रतिनिधिमण्डल लिएर आइपुगेका प्रचण्डको दिल्लीमा हुने महत्वपूर्ण भेटघाटमा पनि संविधान संशोधन, संघीयताको कार्यन्वयन र असन्तुष्ट तराई केन्द्रित दलका माग सम्बोधनमा भइरहेका ढिलाईबारे भारतीय चासो प्रकट हुने ठानिएको छ।

आरोप

प्रधानमन्त्रीको रुपमा दोस्रोपल्ट दिल्ली ओर्लदा गणतन्त्र स्थापनापछि सबैभन्दा ठूलो पार्टी र सरकार प्रमुखको रुपमा आउँदाको जस्तो प्रचण्डको ताप कतिपयका अनुभवमा सेलाइसकेको छ।

उसबेला प्रधानमन्त्रीको रुपमा पहिले चीन पुगेर क्रमभंग गरेको भन्दै गर्व गरेका प्रचण्ड अहिले तेश्रो ठुलो पार्टी र असन्तुष्टि जनाएर बसेका तराई केन्द्रित दलको कमजोर भरोसामा बनेको सरकारका प्रमुख छन्।

द्वन्द्वकालमा लामो समय विभिन्न भारतीय शहरमा भूमिगत बसेका उनले सेनापति प्रकरणमा सत्ताबाट बाहिरिएसँगै विदेशी प्रभु सामु नझुक्ने भन्दै भारतविरुद्ध सडक संघर्षमा उत्रिएका थिए।

तर अहिले आफ्नो दलसमेतको सहमति र सक्रियतामा संविधान जारी गरिएसँगै रुष्ट दक्षिणी छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउने ध्येय बोकेर उनी दिल्ली टेकेका छन्।

आफ्नै दल सम्मिलित पूर्ववर्ती सरकार ढालेर पूर्वप्रधानमन्त्री ओलीकै शब्दमा 'मेड इन समह्वेर, एसेम्बल्ड इन नेपाल' अर्थात अन्तै बनेको र नेपालमा जोडजाड गरिएको सरकारका प्रधानमन्त्रीको रुपमा प्रचण्ड दिल्लीको भरोसा बन्न खोजेको आरोप खेपिरहेका छन्।

चुनौती

नेपाली राजनीतिज्ञका निम्ति धेरै सन्दर्भमा अभिशापसमेत हुने यस्तो अभियोगमाझ प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षी र विज्ञका चेतावनीपूर्ण शर्तको घेराबन्दीमा छन्।

यही बेला हो, नेपालतर्फको सीमा क्षेत्रसम्म सन् २०२० सम्म रेल सञ्जाल ल्याइसक्ने महत्वकांक्षी योजना घोषणा गरेको चीनले हिमालयको विकटता नाघेर पछिल्ला दिनमा नेपालको आन्तरिक राजनीति र त्यसमा भारतीय भूमिकाप्रति नजिकबाट चासो देखाइरहेको बताइन्छ।

चीनको फेरिएको भनिएको त्यस्तो नीति र नेपालमा सुक्ष्म व्यवस्थापनमा हेलिएको आरोप खेप्ने भारतसँगको लामो सम्बन्धबीच सन्तुलन कायम राख्दै हस्तक्षेपमुक्त द्वीपक्षीय विश्वासको वातावरण बनाउनु प्रचण्ड भ्रमणको प्रचण्ड चुनौती देखिन्छ।