दिल्लीमा प्रचण्ड-मोदी भेट हुँदै

  • 16 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .

भ्रमणको दोस्रो दिन शुक्रबार दिल्लीमा निकै महत्वपूर्ण भेटवार्तामा गर्न लागिरहेका प्रधानमन्त्री प्रचण्डले भारत सरकारलाई विगतमा भएका जलश्रोत तथा सडक निर्माण सम्बन्धी सहमति कार्यान्वयनका लागि समय सीमा तोकेर अघि बढ्न प्रस्ताव राख्ने अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले दुई दशकभन्दा अघि भएको सहमति बमोजिम पन्चेश्वर परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तत्कालै कार्यान्वयन गर्न ठोस कदम अघि बढाउन भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले आग्रह गर्ने बताए।

व्यस्त तालिका

चार दिने दिल्ली भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यसूची अन्तर्गत प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिनभर दिल्लीमा उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनेछन्।

भारतीय राष्ट्रपति भवनको प्राङगणमा सम्मान ग्रहण गरि राजघाटस्थित महात्मा गान्धीको समाधिमा माल्यार्पण गरेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा भेट्ने कार्यक्रम छ।

त्यसपछि हैदरावाद हाउसमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रचण्डले प्रभावकारी ढंगले अघि बढ्न नसकेका विकास परियोजनाका कार्यान्वयनका समयसीमा तोकेर अघि बढ्न प्रस्ताव गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराज अधिकारीले बताए।

उनले भने, “सडकहरुका विषय छन्। सहमति भइसकेका विषयलाई कार्यान्वयनमा लैजाने भनिएको छ। उदाहरणका लागि पञ्चेश्वरको बारे विस्तृत आयोजना प्रतिवेदनलाई सम्पन्न गरेर एउटा मार्गमा अघि बढाउने विषय छ। त्यस्तै भूकम्प पुनर्निर्माणका लागि आएका रकमको उचित बाँडफाडका विषय पनि छन्।”

प्रगति

यसअघि दुई वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डूको भ्रमणका क्रममा भएको सहमति अनुसार केही प्रगति भएको पञ्चेश्वर बहुउद्देश्य परियोजनामा ठोस प्रगतिको आधार तय गर्ने प्रयास प्रचण्डले शुक्रबार हुने भेटवार्तामा गर्ने अधिकारीहरु बताउँछन्।

मोदीको भ्रमणपछि पञ्चेश्वर विकास प्राधिकरणको गठनसँगै वापकोस भनिने भारतीय परामर्शदाता कम्पनीले विस्तृत परियोजना अध्ययन पूरा गरी आफ्नो प्रतिवेदन नेपाल र भारत सरकारलाई बुझाइसकेको छ।

करिब ४८ सय मेगावाट बिजुली निकाल्न सकिने भनिएको उक्त परियोजना अघि बढाउनेबारे प्रधानमन्त्रीले राख्ने प्रस्तावबारे जानकारी दिदैँ परराष्ट्र सल्लाहकार ऋषिराज अधिकारीले भने, “उक्त विस्तृत परियोजना प्रतिवेदन लागु गर्ने वातावरण बनाउनु पर्यो। कुन समयसीमामा कसले के गर्ने भनेर प्रष्ट खाका बनाउनु पर्यो भन्ने विषय छन्।”

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा पत्रकारहरुलाई सम्बोधन गर्ने बताइएको छ।

त्यसपछि भारतीय अर्थमन्त्री, तथा उर्जा राज्यमन्त्रीसँग छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ राष्ट्रपति प्रणव मुखर्जीसँग औपचारिक रुपमा‌ भेटेर उनलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ।